ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

पुँजीबजार करिब २ वर्षसम्म सकारात्मक रूपमा चल्दछ : लगानीकर्ता अम्बिका पौडेल

काठमाडौं । पछिल्लो समय पूँजी बजारका विषयमा अनेक अड्कलबाजी भइरहेका छन् । कसैले बजार बढ्नेक्रम रोकिँदैन भन्दछन् त कसैले केही समयपछि बजार फेरि ओरालो यात्रामा आउँछ भन्ने गर्दछन् । दुई फरक–फरक मत आउनु स्वाभाविक नै हो किनकि नेपालको शेयर बजारमा समय–समयमा गुमाउने र कमाउनेहरु उत्तिकै छन् । यही विषयमा नेपालको पुँजीबजारको भविष्य कस्तो देखिन्छ र अबको बजार कता जाला भनेर पुँजी बजारका सक्रिय लगानीकर्ता एवं नेपाल इन्भेस्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिका प्रसाद पौडेलसँग अर्थ प्रणाली डट कमले गरेको कुराकानीको सम्पादित अंशः

शेयर बजारको सम्बन्ध आर्थिक क्रियाकलापहरूसँग छ । यो आर्थिक वृद्धिसँग सम्बन्धित छ । अर्थतन्त्रका सबै कुराहरु विस्तार विस्तारै राम्रो हुँदै जाँदा शेयर बजार राम्रो हुँदै जाने हो । फरक यति हो कि अर्थतन्त्र विस्तारै विस्तारै सुधार हुँदै आउँछ । अर्थतन्त्र सुधार भएको भनेर त्यसलाई अनुभूत गर्न अलि समय लाग्दछ । त्यसको रिफ्लेक्सन क्यापिटल मार्केटमा त्योभन्दा पहिले नै देखिन्छ । अहिले अघिल्लो वर्षको अवस्था हेर्यो भने पनि अर्थतन्त्रमा अलिकति सुधार होला जस्तो भएको थियो तर बीचमा फेरि त्यति राम्रो भएन । त्यसकारण क्यापिटल मार्केट बढेर पनि घटेको अवस्था हो । सबै सूचक हेर्दा सबै अघिल्लो वर्षमा बाह्य सूचक अलि मजबुत देखिन्थ्यो । विस्तारै अहिले अलिकति अर्थतन्त्रका आन्तरिक अवयवहरू पनि राम्रो देखिएका छन् । त्यसो भएर पुँजी बजारको आगामी गति दिगो हुन्छ, राम्रो हुन्छ । यो अहिलेको वृद्धि दिगो किसिमले जान्छ भन्ने मलाई लाग्दछ ।

सुधारको कोण र मानिसमा आशा पलाएको खास कारण के हो ?

एउटा प्राकृतिक कारण हो । सधैँ बिग्रने/भत्कने/सक्किने भन्ने हुँदैन । जस्तै जङ्गलको ढलेको रुखमा पनि पालुवा पलाउँछ । मौसम चलेपछि खोलामा वा कुलामा बर्खाको समयमा यत्तिकै पानी आउँछ । त्यसपछि बाली रोपिन्छ एउटा त्यो कारण हो । अर्को पछिल्ला समयमा सरकारले लिएका सुधारका कदमहरु पनि हुन् भनेर भन्न सकिन्छ । बजेट पनि तुलनात्मक रुपमा लगानीकर्ता, व्यवसाय मैत्री भन्न सकिन्छ । विगतको भन्दा राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले पनि निजी क्षेत्र र पुँजी बजारलाई प्रोत्साहन गर्ने देखिन्छ । त्यस्तै मौद्रिक नीतिले साना तथा मझौला ऋणीहरूलाई थोरै भएपनि राहत दिने हिसाबले हेरेको अवस्था छ । यसको प्रभाव पनि पुँजी बजारमा परेको र यी सबैको योगफल अब आर्थिक वृद्धि दरमा पर्दछ । विगत लामो समयसम्म निर्माण क्षेत्र नकारात्मक थियो । अघिल्लो त्रैमासमा निर्माण क्षेत्र पनि सकारात्मक ग्रोथ (वृद्धि) मा अगाडि बढेको देखिन्छ । अन्य क्षेत्रहरू पनि विस्तारै विस्तारै फैलिएका छन् । बैंक तथा वित्तीय संस्थाहरूको चैतको रिकभरी भन्दा असारको रिकभरी राम्रो छ भनेर सबैले भनिरहेको अवस्था छ । बजारमा सरसर्ती हेर्दा माग सिर्जना देखिन्छ । खुद्रा पसलदेखि होलसेलसम्म अघिल्लो वर्षको असार भन्दा यो वर्षको असार तुलनात्मक रुपमा राम्रो भयो भन्ने सन्देश आइरहेको छ । यी सबै कुराले बजारमा प्राकृतिक सुधार देखिन्छ । त्यस्तै सरकार लामो समयसम्म सुसुप्त भयो भन्ने थियो अहिले उठ्ने बेला भएको छ र सरकारले सबैतिर हेरेको अवस्था छ । त्यसैले गर्दा अर्थतन्त्र जब राम्रो हुन्छ त्यससँगै पुँजीबजारको वृद्धि पनि राम्रो हुन्छ ।

अर्थतन्त्र सुध्रिदै जान्छ भन्ने मानिसमा आश पलाएको हो ?

अहिले आशा पलाएको छ । त्यो केही व्यवसायी, केही अन्य क्षेत्रका व्यक्तिमार्फत नमुनारुपमा बजारमा हेर्ने हो भने पनि स्पष्टसँग देखिन्छ ।

शेयर मार्केट कहाँसम्म पुग्ला अनुमान गर्न सकिन्छ ?

शेयर मार्केटलाई अङ्कमा यति नै पुग्छ भनेर भन्नु त्यति वैज्ञानिक विषय रहन्न । यो कुनै फर्मुला बेस र रकेट साइन्स पनि होइन । तर मेरो विश्वास नेपालको पुँजी बजारको भविष्य राम्रो छ । पुँजीबजार करिब २ वर्षसम्म सकारात्मक रूपमै चल्दछ । यसको मतलब घट्दै घट्दैन भनेको होइन । दुई वर्षसम्म पुँजी बजारमा निराशाका दिनहरु कम आउँछन् । तर पुँजीबजारको स्विङ अप एण्ड डाउन जे भएपनि अन्ततोगत्वा क्लाइमेक्स (चरमोत्कर्ष) मा पुग्नको लागि दुई वर्ष कम्तीमा लिन्छ भन्ने मेरो बुझाइ छ ।

शेयर लगानीकर्ताहरूलाई के भन्न चाहनुहुन्छ ?

बजार सुन्दर छ । आर्थिक क्रियाकलाप विस्तार हुँदैछन् । मुलुकले फरक किसिमले आर्थिक क्षेत्रमा फड्को मार्नेवाला छ । यो अवस्थामा सतर्क र सजग भएर राम्रोसँग बुझेर राम्रा कम्पनीमा लगानी गर्नुस् ।  अहिलेको अवस्था हेर्दा तपाईँ जो कोही लगानीकर्ताको आगामी दुई वर्ष सुन्दर छ भनेर सबैलाई भन्न चाहन्छु ।

Health Tips Ad Road Block