skip this News Page Tips Ad Road Block

काठमाडौँमा कक्षा ४ र ५ का शिक्षकलाई विद्यार्थी मूल्याङ्कन र नतिजा अभिलेखनसम्बन्धी तालिम

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको कक्षा ४ र ५ मा अध्यापन गराउने शिक्षकहरुका लागि विद्यार्थी मूल्याङ्कन र नतिजा अभिलेखन सम्बन्धी २ दिने तालिम अन्तर्गत पहिलो चरणमा १८० जनालाई शिक्षकलाई प्रशिक्षित गरेको छ । आउँदो आइतबार थप १८० जनालाई तालिम प्रदान गर्ने शिक्षा विभागको योजना छ ।

‘सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी कार्ययोजना अन्तर्गतको ८९ औँ बुँदामा उल्लेख भएको कक्षा ४ र ५ का विद्यार्थीहरुको नियमित मूल्याङ्कन सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न तालिम सञ्चालन गरेका हौँ ।’ पहिलो चरणको तालिम समापन गर्दै शिक्षा विभागका प्रमुख नमराज ढकालले भने, ‘तालिमले शिक्षकहरुलाई मूल्याङ्कन प्रणालीका विषय स्पष्टता कायम गरेको छ । आत्मविश्वाश जगाएको छ ।’

‘शिक्षकहरूको उत्कृष्ट तथा नवीन अभ्यासहरूको आदानप्रदान, पाठ्यक्रमको परिचय र संरचना’, ‘विषयगत पाठ्यक्रम र तिनका विशेषता’, ‘नविनतम शिक्षण विधिको प्रयोग’, ‘ विद्यार्थी मूल्याङ्कनका सम्भाव्य तरिका र साधनहरूको प्रयोग’, ‘सिकाई उपलब्धि मूल्याङ्कन अभिलेख फारामको प्रयोग’, ‘जीपीए गणना र विद्यार्थीको प्रगति प्रतिवेदनको नमूना तयारी’ लगायत विषय तालिममा समावेश गरिएको थियो । तालिम संयोजक सीता पाण्डेका अनुसार स्रोत शिक्षकहरुलाई स्रोत व्यक्तिका रुपमा राखेर तालिम सञ्चालन गरिएको हो ।

महानगरपालिकाले चालु आर्थिक वर्षको यस अवधिमा १ हजार ६४६ जना शिक्षकहरुलाई विभिन्न विधामा तालिम प्रदान गरेको छ । यसमा बाल विकास सहजकर्ता (इसीडी) मा १२४ जना, मनोवैज्ञानिक र मनोसामाजिक परामर्श सम्बन्धी तालिममा १३४ जना, नेपाल भाषा प्रशिक्षणमा सामुदायिक विद्यालयतर्फ १६४ जना, संस्थागततर्फ ११६ जना र विद्यार्थी मूल्याङ्कन तथा नतिजा अभिलेखनमा १८० जनालाई तालिम प्रदान गरिएको हो ।

सूचना तथा प्रविधि सम्बन्धी तालिममा ३८५ जना, एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा मूल्याङ्कन र विषयगत रुपमा प्रश्नपत्र निर्माण तथा विद्यार्थी मूल्याङ्कन सम्बन्धी तालिममा ४६० जना र प्रारम्भिक बाल शिक्षादेखि कक्षा ३ सम्म अध्ययनरत विद्यार्थीको अपाङ्गता पहिचान सम्बन्धी तालिममा ८३ जना शिक्षक सहभागी भए । असार महिनामा विद्यार्थी मूल्याङ्कन तथा नतिजा अभिलेखन सम्बन्धी थप १८० जना शिक्षकलाई तालिम दिने योजना छ ।

शिक्षकहरुको क्षमता विकास गर्ने, यसरी सिकेको ज्ञान, सिप र आचरणलाई कक्षा कोठामा प्रदर्शन गर्न प्रोत्साहन गर्ने कार्यक्रमबाट सामुदायिक शिक्षातर्फ नतिजा सुधार हुने अपेक्षा राखिएको छ ।

Health Tips Ad Road Block