काठमाडौं । सोमबार शेयर बजारमा नयाँ रेकर्डमाथिको रेकर्ड कायम भएको छ । आइतबार २५ अर्ब ७७ करोडभन्दा बढीको कारोबार भएकोमा सोमबार उक्त रेकर्ड तोडिएको हो । सोमबार हालसम्मकै उच्च २७ अर्ब २४ करोड २० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
बजारमा नेप्से परिसूचक पनि ७०.८१ अंकले बढेर २९ सय ३१ दशमलव ६५ अंकमा पुगेको छ ।
छोटो समयमै शेयर बजारको सूचक सोमबार २९ सय अंक माथि पुगेको हो । पछिल्लो समय एकपछि अर्काे गर्दै बजारमा उत्साह देखिएको र किन्नेहरुको संख्या बढेपछि नयाँ नयाँ रेकर्ड बनिरहेको छ ।
बजारमा आधा दर्जन बढी कम्पनीका सूचकमा सकारात्मक सर्किट लेभलमा कारोबार भए । बजारमा एउटा कम्पनीको लगानीकर्ताले दश प्रतिशतका दरले गुमाएका छन् ।
यति हुँदा हुँदै पनि बजारमा साना तथा मझौला लगानीकर्ताले भने यस विषयमा सोच्नैपर्ने देखिन्छ । लगानीकर्ताले सबल वित्तीय सूचक भएका, लाभांश दिनसक्ने क्षमता मजबुत भएका कम्पनीहरु छानेर लगानी गर्नु उपयुक्त हुने विज्ञहरुको सुझाव छ ।