काठमाडौं । एमसिसी परियोजना अन्तर्गतका सबै विद्युत् सबस्टेसनको निर्माण सम्झौता पुरा भएको छ । मिलिनियम च्यालेञ्ज एकाउन्ट नेपाल (एमसिए–नेपाल)ले बुधबार नयाँ दमौली सबस्टेशनको ३८.८९ मिलियन डलरको सम्झौतामा हस्ताक्षर गरेसँगै तीनवटा सवस्टेशनको सम्झौता पुरा भएको जनाएको छ ।
योसँगै तीनवटा चार सय केभिए सबस्टेशनहरूको निर्माणका लागि सबै सम्झौता प्रक्रिया पूर्ण भएको एमसिए नेपालले जनाएको छ। नयाँ दमौली सबस्टेशनले रातमाटे, लेखनाथ, र नयाँ बुटवल सबस्टेशनहरूसँग ऊर्जा प्रवाहको लागि महत्वपूर्ण बिन्दुको रूपमा काम गर्ने एमसिए नेपालको भनाइ छ ।
सम्झौतापत्रमा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ लिमिटेडका व्यापार निर्देशक राबिब अग्रवालले हस्ताक्षर गरे ।
यसअघि गत जेठमा नुवाकोटको रातमाटे सबस्टेसन निर्माणका लागि पनि सोही कम्पनीलाई चयन गरी ठेक्का प्रदान गरिएको थियो । न्यु दमौली सबस्टेसन एक हजार मेगा भोल्ट एम्पिएर क्षमताको बन्ने छ जसले रातमाटे, लेखनाथ र नयाँ बुटवल सबस्टेसनलाई आबद्ध गर्ने छ ।
मिलेनियम च्यालेन्ज कर्पोरेशनका साझेदारी गर्व योग्य हिस्सा रहेको र यसले समावेशी र दिगो आर्थिक वृद्धिको माध्यमबाट गरिबी घटाउने कार्य गर्ने एमसिए नेपालका कार्यकारी निर्देशक विष्टले बताए ।