काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले ओजन तह संरक्षणका लागि विश्वव्यापीरुपमा भएको असल अभ्यासलाई अनुशरण गरेर यसबाट निम्तनसक्ने विकराल समस्याबाट बच्न नेपाल पनि अन्तर्राष्ट्रिय समुदायसँगै रहेको जनाएको छ । काठमाडौंमा एक अभिमुखिकरण कार्यक्रम राख्दै विभागको ओजन तह यूनिटले हानिकारक ग्याँसका कारण ओजन तह प्वाल पर्नसक्ने र त्यसबाट क्यान्सर बढ्नसक्ने खतरा र उत्पादन तथा उत्पादकत्व घट्ने लगायतका विषयबारे जानकारी दिँदै सबै सचेत बन्नुपर्ने बताएको हो ।
विभागकी महानिर्देशक कुमारीज्योति जोशीले अन्तर्राष्ट्रिय प्रयाससँगै नेपालले पनि ओजन तह संरक्षणका लागि आवश्यक कानुनी र अन्य कार्य गरिरहेको जानकारी दिइन् । विश्वव्यापी प्रयासअनुरुप प्रतिबन्धित ग्यासजन्य विषय आयातमा प्रतिबन्ध र त्यसको प्रयोगलाई निरुत्साहित बनाइएको उनको दाबी छ ।
विभागका नेसनल ओजन यूनिटका केमिष्ट इन्जय कुमार मानन्धरले कार्यपत्र प्रस्तुत गर्दै जमिनदेखि १० किलोमिटरदेखि ४८ किलोमिटरसम्म ओजनको लेयर हुने र ओजन लेयर पातलिँदै गएको र यसले क्यान्सरको समस्या बढाएको, खाद्य उत्पादन र उत्पादकत्व घटाएको, ग्लोबल वार्मिङ बढाएको लगायतका जानकारी दिए । यसका लागि विश्वव्यापीरुपमा सबै सचेत बन्नुपर्ने उनले सुनाए ।
यसैगरी विभागको नेसनल ओजन यूनिटकी कार्यक्रम अधिकृत सीमा बानियाँले कार्यपत्रमार्फत मोटोरल प्रोटोकलसहित अन्तर्राष्ट्रिय विभिन्न सम्झौताको बारेमा जानकारी दिँदै व्यक्तिले विभिन्न प्रकारका एसी, कुलरहरुको प्रयोग गरिरहँदा त्यसमा प्राकृतिक ग्यासको प्रयोगबारे जानकारी राख्नुपर्ने बताइन् । घरघरमा धेरै प्रयोग हुने फ्रिजबारे जानकारी दिँदै उनले पुरानो फ्रिज नचलाउन सल्लाह दिँदै यदि चलाउनै परे प्राकृतिक ग्यास परिवर्तन गरेर चलाउनुपर्ने जानकारी दिइन् । वातावरणलाई असर पार्ने ग्यासहरुबारे सबैले जानकारी राख्नुपर्ने र प्रकृतिलाई बचाउन सबै लाग्नुपर्ने बानियाँको भनाइ थियो ।
विभागले हानिकारक सिएफसिएस् ग्यास नेपालबाट पूर्णरुपमा हटिसकेको, एचसीएफसिएस् सन् २०३० हटिसक्ने जानकारी दिँदै ओजन तहमा हानी पुर्याउने ग्यासको आयात र प्रयोगलाई सन् २०३० सम्ममा प्रतिबन्ध लगाउने उद्देश्य राखेर चरणबद्ध कार्यक्रमहरू सञ्चालन गरिरहेको जनाएको छ ।
सन् २००४ मा राष्ट्रिय ओजन यूनिट स्थापना गरी विभागले वातावरण र ओजन तह संरक्षणका लागि विविध कार्यहरु गर्दै आएको छ ।