काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङले कला र संगीतलाई पर्टनसँग जोडेर लैजानुपर्नेमा जोड दिएका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा (प्रतिष्ठानको सङ्गीत विभागद्वारा आयोजित नौमतीमा नौ राग वादन प्रस्तुति कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले नेपाली समाजमा नौमती, पञ्चेबाजाको भूमिका जनजीवनमा महत्त्वपूर्ण रहेकोले यो संगीत र यसको महत्त्व संसार सामु चिनाउनु पर्ने बताए । उनले नेपाली समाजमा व्यापक र प्रचलित संगीत ऐतिहासिक र मौलिक पञ्चेबाजा (नौमती बाजा)को विशिष्ट योगदान प्रभाव स्थापित भएको पनि बताए ।
नौमति बाजाको संरक्षण, विकास र प्रवर्द्धनलाई पनि राज्य तथा सबै पक्षले ध्यान दिनु पर्नेमा मन्त्री तामाङले जोड दिए । नेपालमा अहिले सम्म १३५५ भन्दा बढी बाजाहरुको प्रयोग हुँदै आएकोमा कतिपय बाजाहरू लोपोन्मुख अवस्थामा र जिर्ण अवस्थामा रहेको भन्दै उनले ती सबै बाजाहरू र धुनलाई आफ्नो ठाउँबाट संरक्षण, विकास र प्रवर्द्धनको खाँचो देखिएको बताए ।
नेपाली पन्चेबाजा, नौमति बाजा र यसबाट निस्कने धुन, संगीत मुलुकको पहिचान रहेको भन्दै यसको संरक्षण र प्रवर्द्धनले विश्वसामु परित बनाउनुका साथै पर्यटन विकासमा पनि टेवा पुग्ने बताए । यस्ता मौलिक तथा परम्परागत बाजाहरुको संरक्षणमा सरकार र मन्त्रालयले महत्त्वपूर्ण भूमिका खेल्ने मन्त्री तामाङले प्रतिबद्वता पनि जनाए । आर्थिक समृद्धि ल्याउनका लागि पनि यस्ता बाजागाजाको विशेष महत्त्व रहने उनको धारणा रहेको छ ।
सामाजिक रूपमा पञ्चेबाजालाई विभिन्न शुभ कार्य गर्दा यो संगीतलाई नै शुभ साईत (मंगलकार्य) का रूपमा प्रयोग गरिने गर्दछ । यो संगीतमा नौ वटा बाजाहरूको प्रयोग हुन्छ । सुर, ताल, र लय मिश्रित यो संगीतमा विभिन्न राग र तालहरूको प्रयोग हुने गर्दछ ।