काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरूपयोग सम्बन्धमा गठीत संसदीय छानविन विशेष समितिको कार्यविधि तयार भएको छ ।
समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीको अध्यक्षतामा नयॅा बानेश्वस्थित संसद भवनमा बसेको तेस्रो बैठकले व्यापक छलफल र परामर्शबाट प्राप्त सुझाव एवं स्पष्टतासहित समितिको मस्यौदा कार्यविधि सर्वसहमतिले पारित गरेको सभापति क्षेत्रीले जानकारी दिए ।
सहकारी छानबिन सम्बन्धी कार्यादेश निर्माणमा संलग्न रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, महेश बर्तौला, हितराज पाण्डे र जीवन परियारसँग आजको बैठकमा परामर्श लिइएको थियो । बैठकले समितिको कामलाई अघि बढाउनका लागि कार्यसूचीहरू पनि तयार गरेको छ ।
आगामी बैठकमा संघीय सहकारी मन्त्री, सचिव, सहकारी विभाग र बोर्ड तथा समस्याग्रस्त सहकारी ल्यवस्थापन समितिसॅग आवश्यक छलफल गर्ने कार्यसूची तय गरी आधारभूत तथ्य एवं जानकारी प्राप्त गरी छानबिन कार्य अघि बढाइने सभापति क्षेत्रीले जानकारी दिए ।