काठमाडौं । नेपालमा पर्यटनसम्बन्धी मेगा इभेन्ट आयोजना गरेर नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न उद्देश्यले शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो (नाइट) हुने भएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, काठमाण्डौं महानगरपालिकाको सहयोग एवंं विभिन्न संघ संस्थाहरुको सहकार्यमा दुई दिने एक्स्पो हुन लागेको जानकारी दिइएको हो । एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
नाइट एक्स्पोले देश तथा विदेशमा रहेका पर्यटन सम्बद्ध व्यवसायी (होटेल, रिसोर्ट, होमस्टे, ट्राभल÷टुर÷ट्रेकिङ÷माउन्टेनियरिङ एजेन्सी, एयरलाईन्स), सरोकारवाला व्यक्ति तथा निकायलाई एक ठाउँमा ल्याई नेपालको समग्र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिएको एक्स्पोका संस्थापक÷संयोजक तथा समिट इभेन्ट्स एन्ड मार्केट्सका प्रबन्ध निर्देशक विष्णु पाण्डेले जानकारी दिए ।
एक्स्पोमा १६ देशका १५० विक्रेता, २५० क्रेता तथा १ हजार भन्दा बढी आगन्तुकको सहभागिता रहने संयोजक पाण्डेले बताए । एक्स्पोमा बिहार टुरिजम, टुरिजम मलेशियाको समेत सहभागिता रहने उनले जानकारी दिए । मुलतः पर्यटन व्यवसायीबीचको सहकार्यलाई प्रोत्साहन गर्न ठूलो भूमिका खेल्ने आशा गरिएको प्रदर्शनीले अन्तर्राष्ट्रिय पर्यटन सञ्जाल तथा व्यापारको व्यापक विस्तार हुने विश्वास लिइएको आयोजकले जनाएको छ ।
नेपालमा पहिलो पटक आयोजना हुन लागेको नाइट २०२४ नेपालको सबैभन्दा ठूलो अन्तर्र्र्राष्ट्रिय बिटुबी र बिटुसी पर्यटन प्रदर्शनी रहेको बताइएको छ । यसले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन सरोकारवालाहरूलाई दुई दिने नेटवर्किङका लागि एकसाथ ल्याउने, नयाँ सहकार्यलाई बढावा दिने र दिगो साझेदारी स्थापना गर्ने लक्ष्य राखिएको छ । जसले गर्दा व्यापारिक सम्पर्क बढाउन र नेपालको पर्यटन उद्योगलाई प्रवद्र्धन गर्नको लागि एक प्रमुख प्लेटफर्मको रूपमा यो कार्यक्रम बन्ने आयोजकको विश्वास रहेको छ ।
एस्क्पोमा पर्यटनसँग सम्बन्धित विभिन्न विषयमा समूह छलफल हुने छ । जसमा नेपालका पर्यटनका बहुआयामिक विषयहरुमा मन्थन हुनेछ र यसबाट नेपालको विद्यमान पर्यटन नीति,चुनौती र समाधानको लागि मार्ग प्रशस्त गर्ने संोजक पाण्डेले बताए ।
एक्सपोमा नेपाल पर्यटन बोर्ड, काठमाण्डौं महानगरपालिका सहित एजुकेशनल पार्टनरका रुपमा नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम), हस्पिटालिटी पार्टनर होटल सोल्टी काठमाडौं, ल्यान्डमार्क होटेल्स एन्ड रिसोर्ट्स काठमाडौं, रे –जिन –टा रोयल अर्किड होटल्स तथा डेस्टिनेशन पार्टनरका रुपमा चन्द्रागिरी हिल्स, फुड पार्टनरका रुपमा अटिक, डिजिटल पार्टनरका रुपमा खल्ती, ट्रान्सपोर्ट पार्टनरमा स्विफ्ट होलिडेज, टाभल पार्टनरमा एमडी एडभेन्चर, हेल्थ पार्टनरमा ह्याम्स अस्पताल र इटरनेट पार्टनरमा क्लासिक टेक रहेका छन् ।
पत्रकार सम्मेलनमा विज्ञप्तिमार्फत पाण्डेले भने, ‘विश्वका विभिन्न देशहरुमा यस प्रकारका इभेन्टहरु भइरहेका हुन्छन् जहाँ नेपाली व्यवसायीहरले भाग लिइरहेका हुन्छन् । हामीले नेपालमा पनि यस प्रकारका इभेन्ट आयोजना गर्न सके विभिन्न देशका मानिसहरूलाई एकै ठाउँमा ल्याउन सकिने र यसबाट नेपालको अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धनका लागि नयाँ अवसरहरू सिर्जना गर्नेछ भन्ने अभिप्रायले यो कार्यक्रम आयोजना गर्ने जमर्को गरेका छौं । यसबाट संस्कृति र परम्पराको प्रवद्र्धन, अन्तर्राष्ट्रिय सम्बन्धको सुदृढिकरण तथा नेपालको ब्राण्डिङ र प्रचारप्रसार हुने छ । जसबाट भविष्यमा नेपालमा थप पर्यटकहरूलाई आकर्षित गर्न सकिनेछ । ’
एक्स्पोमार्फत देशको आर्थिक, सांस्कृतिक, सामाजिक, र अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । शनिबारसम्म आयोजना हुने एक्स्पो करिब १ करोड रुपैयाँको अनुमानित लागतमा सम्पन्न हुने आयोजकले भनाइ रहेको छ ।