सुर्खेत । एक सय ३२ केभी प्रसारण लाइनको कोहलपुर–सुर्खेत आयोजनाको म्याद पुनः नौ महिना थप गरिएको छ । २०८१ पुस १६ गतेसम्मका लागि आयोजनाको थप गरिएको हो । सत्तरी करोड रुपैयाँमा भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले २०७७ असारदेखि काम सुरुवात गरेको आयोजनाको म्याद थप गरिएको हो ।
यस्तै बाँके र बर्दिया जिल्लामा पर्ने राष्ट्रिय निकुञ्जमा विद्युत् विस्तार गर्नुपर्ने भएका कारण आयोजना निर्माणका लागि छ हजार रुख कटानका लागि टाँचा लगाइएको आयोजनाले जनाएको छ ।
२०७९ असार १५ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रूख कटान निर्णय गरेको थियो । मन्त्रिपरिषद्बाट निर्णय भएपनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमति पाउन ढिलाई भएका कारण काम अगाडि बढ्न सकिरहेको थिएन । अब भने विस्तारै काम अगाडि बढ्ने भएको छ ।
हालसम्म विद्युत् प्रसारण लाइन विस्तारको ७० प्रतिशत प्रगति हासिल भएको आयोजनाले जनाएको छ । त्यसअन्तर्गत एक सय पाँचवटा फाउण्डेसन निर्माण गरिएको छ भने दशवटा फाउण्डेसन निर्माणाधिन अवस्थामा रहेका छन् । त्यस्तै २५ किलोमिटर तार तान्ने काम सकिएको छ भने सुर्खेतको सुब्बाकुनामा सबस्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।