काठमाडौं । नेपालको आन्तरिक अर्थतन्त्रसँगै आर्थिक क्रियाकलाप कमजोर देखिरहेका बेला बाह्य सूचक भने महिनैपिच्छे मजबुत बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वैशाखसम्मको तथ्याँकअनुसार चालु खाता १ खर्ब ९३ अर्ब २५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको यही बेलासम्म चालु खाता ६३ अर्ब ७४ करोडले घाटामा रहेको थियो ।
राष्ट्र बैंकका अनुसार शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोडले बचतमा रहेको छ । पोहोर भने २ खर्ब ९ अर्ब ४९ करोडले बचतमा रहेको थियो ।
गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.२ प्रतिशतले वृद्धि भई बैशाख मसान्तमा १९ खर्ब ४२ अर्ब ४० करोड पुगेको छ । यो रकमले १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकले जनाएको छ ।
यता वैशाखसम्ममा १९.२ प्रतिशतले वृद्धि भई ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । दश महिनामा कुल वस्तु व्यापार घाटा २.३ प्रतिशतले कमी आई ११ खर्ब ७७ अर्ब १८ करोड पुगेको छ ।
यो अवधिमा महँगी ४.४० प्रतिशत रहेको छ । गतवर्ष यो बेला ७.४१ प्रतिशतको मूल्यवृद्धि रहेको थियो । नेपाल सरकारको खर्च १० खर्ब ५६ अर्ब ८९ करोड र राजस्व परिचालन ८ खर्ब ३१ अर्ब ९३ करोड रहेको छ ।