काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले व्यापार, लगानी प्रवद्र्धनमा नीतिगत सुधारका लागि जीटुजी स्तरमा नियमित संवाद हुन आवश्यक रहेको बताएकी छन् । काठमाडौंमा भएको बिमस्टेक क्षेत्रको विकास र समृद्धिको लागि क्षेत्रीय तालमेल विषयमा बिमस्टेकका महासचिवसँगको अन्तरक्रिया अध्यक्ष राणाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास भएको भन्दै यसले नेपाल, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार, थाइल्याण्ड र भारतलाई व्यापार, उद्योग र पारस्परिक हितका क्षेत्रमा सहकार्यका लागि ल्याउने दाबी गरिन् ।
पूर्वअध्यक्ष राणाले विगत पाँच वर्षमा बिमस्टेक सदस्य राष्ट्रहरूले कोभिड–१९ महामारीले ल्याएको आर्थिक झट्कामा चुनौतीको सामना गरिरहेको बताइन् । उनले बिमस्टेक देशहरूमा भारत बलियो अर्थतन्त्रको रूपमा रहेको भन्दै बिमस्टेक सदस्य राष्ट्रहरूको व्यापार र आर्थिक अवसरहरूको दोहन गर्ने ‘प्राकृतिक प्लेटफर्म’ मा परिणत भई सहजीकरण, समन्वय, लगानी र व्यापार अन्वेषण गर्ने सम्भावित देश हुन सक्ने बताइन् । उनले बिमस्टेक देशहरूबीचको क्षेत्रीय सहयोग र एकीकरणलाई गति दिन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन् । बिमस्टेकलाई स्वतन्त्र व्यापार क्षेत्र बनाउन सबै सदस्य राष्ट्रले भने पनि यस सम्बन्धमा के प्रगति भयो निजी क्षेत्रले थाहा पाउन नसकेको बताइन् ।
उनले सदस्य राष्ट्रहरूको हितका लागि स्वतन्त्र व्यापार क्षेत्र बनाउनलाई तीव्रता दिनु पर्ने बताएन् । उनले नेपालको झण्डै दुई तिहाइ व्यापार भारतबाट हुने र कोलकाता, हल्दिया, विशाखापट्टनमलगायत विभिन्न बन्दरगाहबाट नेपाललाई व्यापार सहजीकरणका लागि भारतले पनि सहयोग गर्दै आएकोले व्यापार तथा पारवहन सहजीकरणका लागि भारत अगाडि बढ्नुपर्ने बताएन् । कार्गो आगमनमा शुल्क र ढिलाइ अझै अव्यवस्थित रहेको भन्दै सही काम गर्न आवश्यक रहेको उनले बताइन् । उनले भनिन्, ‘नेपालले आफ्नो ऊर्जा उत्पादन बढाइरहेको छ, यदि यो उदीयमान सम्भावित उत्पादन सदस्य राष्ट्रहरूलाई सौहार्दपूर्ण सम्झौतामा बेच्न सकियो भने यो क्षेत्रको आर्थिक समृद्धिको लागि सम्भावित गेम चेन्जर साबित हुनेछ । उप–क्षेत्र भित्र व्यापारको सहज प्रवाहको लागि यातायात जडान अर्को क्षेत्र भएको भन्दै सडक सञ्जालमार्फत नेपालको दक्षिणपूर्वी एसियासँगको सम्पर्क सदस्य राष्ट्रहरूबीच ठूलो सम्भावना रहेको छ ।’
उनले व्यापार, लगानी प्रवद्र्धनका लागि बिमस्टेक चेम्बर अफ कमर्सको स्थापना गर्न जरुरी रहेको धारणा राखेकी छिन् । राणाले बिमस्टेक चेम्बर अफ कमर्सको स्थापनासँगै सदस्य देशहरुमा व्यापार र लगानी प्रवद्र्धनमा चेम्बरले सहजिकरण गर्ने उल्लेख गरिन् ।