काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ले राजनीतिक पार्टीहरूको पार्टी कार्यालय र नेताहरूको घरको फोहोर नउठाउने घोषणा गरेपछि उनको माग तत्काल सम्बोधन भएको छ ।
फोहोर बोक्ने गाडीका चार जना चालकलाई सरकारले पक्राउ गरेको भन्दै उनले सिंहदरबार लगायत राजनीतिक पार्टीहरूको पार्टी कार्यालय र नेताहरूको घरको फोहोर नउठाउने घोषणा गरेका थिए ।
उनले समाजिक सञ्जालमा आफ्नो धारणा राख्दै भनेका थिए ‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाउनुभएछ यो सरकारले । जब सम्म ससम्मान चालकहरु रिहा हुन्नन् सिंहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन । को–को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोडिँदैन !’
बालेनको यो धारणा र सञ्चारमाध्यममा छ्यापछ्याप्ति समाचार आएलगतै बालेनको माग सम्बोधन भएको छ । आफ्नो माग सम्बोधन भएलगत्तै बालेनले लेखेका छन्, ‘ फोहोरको गाडी चलाउने चालकलाई स–सम्मान छोडेको खबर पाएँ । जो कोहीले यत्ति बुझ्नुहोला, पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला तर नियम, कानून र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरबासीको आत्मसम्मान हुन्छ । त्यसमा कसैले सम्झौता गर्न पाइँदैन । काठमाडौं महानगर यसमा संवेदनशील छ ।
अझ आफ्नो कर्तव्य निभाई रहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन । बुझेर कदम चाल्नुहोला ।’