काठमाडौं । नेपालले चालु आर्थिक वर्षको आठ महिनामा ९ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्र्याएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार यो अवधिमा रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले बढेर ९ खर्ब ६१ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ ।अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो । फागुनसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ८६ हजार ९३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८४ हजार २७८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ५१ हजार ७६१ र १ लाख ९२ हजार ५५९ रहेको थियो ।
यो अबधिमा महँगी ४.८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अबधिमा यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत रहेको थियो । आठ महिनामा कुल वस्तु निर्यात ४.० प्रतिशतले कमी आई १०० अर्ब ६२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २९.१ प्रतिशतले कमी आएको थियो । चालु आर्थिक वर्षको आठ महिनामा कुल वस्तु व्यापार घाटा २.५ प्रतिशतले कमी आई ९ खर्ब २९ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १७.९ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा चालु खाता १ खर्ब ६६ अर्ब ८७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५५ अर्ब २८ करोडले घाटामा रहेको थियो । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले वृद्धि भई फागुन मसान्तमा आइपुग्दा १८ खर्ब ७२ अर्ब ८२ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति
१४ अर्ब १४ करोड पुगेको छ । आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४.८ महिनाको वस्तु आयात र १२.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।