कास्की । पोखराको सार्वजनिक यातायात सुधार सम्बन्धमा सार्वजनिक निजी संवादमा बहस भएको छ । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तरगत व्यवसाय प्रवर्द्धन केन्द्रको आयोजनामा आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौला र नेपाल अटोमोवाईल एसोसिएसनका कार्यकारी निर्देशक गोविन्द भट्टराईबीच Smart & Sustainable Mobility विषयमा छलफल भएको हो ।
महानगरका प्रमुख आचार्यका अनुसार, दिगो सहरी यातायात व्यवस्थापन र विद्युतीय सवारी साधन (इमोबिलिटी) परियोजना सञ्चालनका लागि ADB र ग्रिन क्लाइमेट फन्डको साझेदारीमा १०० मिलियन अमेरिकी डलर बराबरको अनुदान तथा सहुलियत ऋण नेपाललाई प्राप्त भएको बताए । सो मध्ये पोखरामा ४० मिलियन अमेरिकी डलर बराबरको लगानी हुनेछ ।
उनका अनुसार परियोजनाले पोखराको सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने मात्र नभई वातावरण संरक्षणमा पनि महत्त्वपूर्ण योगदान पुर्याउनेछ। पोखरालाई पर्यटन राजधानी घोषणा गरिएसँगै ADB ले यस क्षेत्रमा यातायात व्यवस्थापनका लागि इमोबिलिटी परियोजनालाई प्राथमिकता दिएको हो । परियोजना अन्तरगत विद्युतीय गाडीको प्रयोगमा प्रोत्साहन गर्ने, चार्जिङ स्टेसन निर्माण, सार्वजनिक यातायात सेवाको डिजिटलाइजेशन, व्यवस्थित बस स्टप लगायत पूर्वाधार निर्माण गरिनेछन् ।
सार्वजनिक निजी संवाद कार्यक्रममा पोखराको यातायातलाई सुधारका लागि सरोकारवाला पक्षहरू एकाकार भएर अगाडि बढ्नु पर्नेमा जोड दिइएको छ ।
इमोविलिटी परियोजनाबाट पोखराको सार्वजनिक यातायात प्रणाली विद्युतीय र आधुनिक बनाउँदै पर्यावरणमैत्री र दिगो यातायात समाधान उपलब्ध गराउने अपेक्षा गरिएको छ ।





















