skip this News Page Tips Ad Road Block

एनसी ऐग्रो टेक ईन्डष्ट्रिज र त्रिवि जैविक प्रविधि विभागबीच कृषि उद्योगको विकास र नवप्रवर्तनसम्बन्धी सम्झौता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडाैं । जैविक प्रविधि केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर र एन.सी. ऐग्रो टेक ईन्डष्ट्रिज लिमिटेड, गैंडाकोट -१४, नवलपरासी (सुस्ता पूर्व) बीच कृषि–आधारित उद्योगको दिगो विकास र उद्यमशीलता प्रवर्द्धनमा योगदान पुर्‍याउनेसम्बन्धी एक सम्झौता भएकाे छ । सम्झौतामा जैविक प्रविधि केन्द्रीय विभाग त्रि.वि. कीर्तिपुर, काठमाडौं विभागीय प्रमुख प्रा.डा.गिरी राज त्रिपाठी र एन.सी. एग्रोटेक इण्डष्ट्रिज लि.गैडाकोट नगरपालिका-१४, नवलपरासी (सुस्ता पूर्व) संचालक दिपक प्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सम्झौताकाे साक्षीका रूपमा जैविक प्रविधि केन्द्रीय विभागका उप प्राध्याकद्वय डा. विजय राज सुवेदी र डा. जरीना जोशी रहेका छन् ।

सम्झौता अनुसार नेपालको सर्वाङ्गीण विकासको लागि आवश्यक दक्ष जनशक्ति तयार गर्ने, गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने, वैज्ञानिक अनुसन्धान तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने, तथा विज्ञान, प्रविधि र व्यावसायिक क्षेत्रसँग सम्बन्धित ज्ञानलाई समयसापेक्ष, ब्यवहारिक र प्रभावकारी बनाउने उद्देश्यले स्थापित त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जैविक प्रविधि केन्द्रीय विभाग, ट्रफल तथा एग्रो बायो मेटेरियल प्रयोगशाला, कीर्तिपुर, काठमाडाैं र उद्योग विभागमा दर्ता भइ नवलपरासी (सुस्ता पूर्व) गैँडाकोट नगरपालिका वडा नं. १४ मा सञ्चालित, तरकारी तथा च्याउ खेती, च्याउ तथा खाद्यवस्तु प्रशोधन एवं उत्पादन कार्यमा संलग्न एन.सी. एग्रो टेक इन्डस्ट्रिज लिमिटेडबीच विभिन्न शर्त तथा प्रावधानहरूमा रही कार्य गर्ने सहमति भएकाे छ । साेमबार यस सम्झौतापत्रमा हस्ताक्षर गरी सहमति कायम गरिएको र हस्ताक्षर गरेकै मितिदेखि लागु भएकाे एन.सी. एग्रो टेक इन्डस्ट्रिज लिमिटेडले जनाएकाे छ ।

यस्ता छन् सम्झौताका उद्देश्यहरूः

१. च्याउ, चिया, कफी तथा जैविक स्रोतमा आधारित अनुसन्धान, प्रविधि विकास र नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने ।

२. उद्योग र विश्वविद्यालयबीच सहकार्य स्थापना गरी अनुसन्धानलाई व्यवहारिक तथा उत्पादनमुखी बनाउने ।

३. विद्यार्थी, अनुसन्धानकर्ता तथा प्राविधिक जनशक्तिलाई प्रयोगात्मक सिकाइ, इण्टर्नशिप तथा अनुसन्धानका अवसर उपलब्ध गराउने ।

४. जैविक मल, अतिरिक्त पोषक आहार तथा मूल्य अभिवृद्धियुक्त उत्पादन विकासमा सहकार्य गर्ने ।

५. कृषि–आधारित उद्योगहरूको दिगो विकास तथा उद्यमशीलता प्रवर्द्धनमा योगदान पुर्‍याउने ।

सम्झौता अनुसार जैविक प्रविधि केन्द्रीय विभागको दायित्व

१. औद्योगिक उपयोगका लागि उपयुक्त विभिन्न प्रजातीका च्याउका मदर कल्चरहरूको वैज्ञानिक अध्ययन अनुसन्धान तथा संरक्षण गर्ने ।

२. च्याउ, चिया तथा कफीको आनुवंशिक सुधार (Genetic Improvement) र ब्रिडिङसम्बन्धी वैज्ञानिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने ।

३. जैविक मल उत्पादनका लागि आवश्यक प्रविधि विकास, उपयोगी सूक्ष्मजीवहरूको अनुसन्धान तथा सूत्रीकरण (Formulation) सम्बन्धी नवप्रवर्तन गर्ने ।

४. अतिरिक्त पोषक आहार (Supplement Food) विकाससम्बन्धी अनुसन्धान तथा परीक्षण गर्ने ।

५. च्याउबाट उत्पादन गर्न सकिने विविध प्रकारका खाद्य तथा गैर–खाद्य सामग्रीहरूको अनुसन्धान, विकास तथा नवप्रवर्तन गर्ने ।

६. चिया तथा कफीको मूल्य अभिवृद्धि (Value Addition) सम्बन्धी प्रविधि विकास तथा अनुसन्धानमा सहकार्य गर्ने ।

७. आवश्यकताअनुसार दोस्रो पक्षलाई प्राविधिक परामर्श, तालिम तथा अनुसन्धानात्मक सहयोग उपलब्ध गराउने ।

सम्झौता अनुसार एन.सी. एग्रो टेक इन्डस्ट्रिज लिमिटेडको दायित्व

१. अनुसन्धान, नवप्रवर्तन तथा प्रविधि विकासका लागि आवश्यक वित्तीय सहयोग, भौतिक पूर्वाधार तथा उपकरणहरू उपलब्ध गराउने ।

२. प्रथम पक्षका विद्यार्थी, अनुसन्धानकर्ता तथा प्रशिक्षार्थीहरूलाई उद्योगमा अध्ययन, अवलोकन तथा इण्टर्नशिप गर्ने अवसर प्रदान गर्ने ।

३. इण्टर्नशिपमा सहभागी विद्यार्थीहरूका लागि सम्भव भएसम्म खाना, आवास तथा कार्यस्थल सुविधा उपलब्ध गराउने ।

४. चिया, कफी, च्याउ तथा कृषि–आधारित उद्योगसँग सम्बन्धित अध्ययन तथा अनुसन्धान कार्यक्रम सञ्चालनमा आवश्यक सहयोग गर्ने ।

सम्झौतामा यस सहकार्यबाट विकसित प्रविधि, अनुसन्धान प्रतिवेदन, प्रकाशन, उत्पादन वा नवप्रवर्तनसम्बन्धी बौद्धिक सम्पत्तिको स्वामित्व तथा उपयोगसम्बन्धी व्यवस्था दुवै पक्षको आपसी सहमतिबाट छुट्टै निर्धारण गरिने बताइएकाे छ । सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि दुवै पक्षको सहभागितामा आवश्यकताअनुसार कार्यविधि, कार्ययोजना वा संयुक्त संयन्त्र गठन गर्न सकिने उल्लेख गरिएकाे छ ।

याे सम्झौताले त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालन भइरहेका कुनै पनि शैक्षिक, अनुसन्धान तथा पठनपाठन कार्यक्रमहरूमा प्रतिकूल प्रभाव नपार्ने स्पष्ट पारिएकाे छ । त्यस्तै दुवै पक्षको सहकार्यमा आवश्यकता अनुसार संयुक्त अनुसन्धान, तालिम, गोष्ठी, कार्यशाला तथा नवप्रवर्तन कार्यक्रम सञ्चालन गर्न सकिने बताइएकाे छ ।

Health Tips Ad Road Block