skip this News Page Tips Ad Road Block

सुनचाँदी व्यवसायीको हक–हित, व्यवसायिक एकता र नीतिगत सुधारका पक्षमा विमल धमला !

सर्लाही । नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघका महासचिव निरबहादुर विक (विमल धमला) सुनचाँदी व्यवसायीहरूको हक–हित, व्यवसायिक एकता र नीतिगत सुधारका पक्षमा निरन्तर सक्रिय नेतृत्वका रूपमा परिचित छन् । व्यवसायीका हरेक जायज मागलाई सम्बन्धित निकायसम्म पुर्‍याउने, सरकारलाई व्यवसायीका समस्याप्रति गम्भीर बन्न निरन्तर झक्झक्याउने तथा व्यवसायमैत्री नीति निर्माणका लागि आवाज उठाउँदै उहाँले महासंघको तर्फबाट सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

विशेषगरी व्यवसायमा थप भार परेको भन्दै लागू गरिएको २ प्रतिशत लक्जरी कर विरुद्ध व्यवसायीहरूको साझा आवाजलाई सशक्त रूपमा उठाउन, सरकारसँग निरन्तर संवाद गर्न तथा उक्त कर हटाउन भएका आन्दोलन र पहलहरूमा उनी अग्रपङ्क्तिमा देखिएका छन् । व्यवसायीहरूको हरेक जायज मागको सम्बोधनका लागि निरन्तर संघर्षरत रहँदै उनले संगठनलाई थप सशक्त र एकताबद्ध बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् ।

सरल व्यक्तित्व, स्पष्ट धारणा, इमानदार कार्यशैली र संगठनप्रतिको अटल समर्पणका कारण विमल धमला व्यवसायी समुदायमाझ विश्वासिलो, जिम्मेवार र कर्मशील नेतृत्वका रूपमा स्थापित भएका छन् । व्यवसायिक अधिकारको संरक्षण, संगठनको सुदृढीकरण र सुनचाँदी क्षेत्रको समग्र विकासका लागि उनको सक्रियता व्यवसायी समुदायका लागि प्रेरणाको स्रोत बनेको छ।

यसैबीच सर्लाही सुनचाँदी व्यवसायी संघ, हरिवनको आयोजनामा “व्यवसायिक एकता, पारदर्शिता र समृद्धिको आधार” भन्ने मूल नारासहित सुनचाँदी व्यवसायीहरूका लागि कर, बिलिङ, लेखा व्यवस्थापन तथा अडिट सम्बन्धी अभिमुखीकरण दिइएको छ।

संघका अध्यक्ष निरन्जन कुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघका महासचिव निरबहादुर विश्वकर्मा (विमल धमला) प्रमुख अतिथिका रूपमा सहभागीmभएका थिए । कार्यक्रममा महेश पोखरेलले प्रशिक्षकका रूपमा सहजीकरण गर्दै वर्तमान कर प्रणाली, बिलिङ व्यवस्थापन, लेखा व्यवस्थापन तथा अडिट प्रक्रिया सम्बन्धी व्यवहारिक तथा प्राविधिक जानकारी प्रदान गरेका थिए । सहभागी व्यवसायीहरूले समेत आफ्नो जिज्ञासा राख्दै कर तथा लेखा व्यवस्थापनसँग सम्बन्धित विविध विषयमा अन्तरक्रिया गरेका थिए।

सो अवसरमा प्रमुख अतिथि निरबहादुर विश्वकर्मा (विमल धमला)ले व्यवसायलाई कानुनी, पारदर्शी र व्यवस्थित बनाउन कर तथा लेखा सम्बन्धी ज्ञान अपरिहार्य रहेको बताउँदै व्यवसायीहरू समयानुकूल परिवर्तनसँगै अघि बढ्नुपर्नेमा जोड दिए। उनले व्यवसायीहरूको हक–हितको संरक्षण, व्यवसायमैत्री नीति निर्माण तथा संगठनको सुदृढीकरणका लागि महासंघ निरन्तर सक्रिय रहेको पनि उल्लेख गरे ।

अध्यक्ष निरन्जन कुमार साहले कार्यक्रमले व्यवसायीहरूलाई कर, बिलिङ, लेखा व्यवस्थापन तथा अडिट सम्बन्धी व्यावहारिक ज्ञान प्राप्त गर्न महत्वपूर्ण सहयोग पुगेको विश्वास व्यक्त गर्दै सहभागी, प्रशिक्षक तथा प्रमुख अतिथिलाई धन्यवाद ज्ञापन गरे ।

Health Tips Ad Road Block