काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारण सभा तथा अधिवेशनमार्फत नयाँ कार्यसमिति छान्ने चुनावी भिडन्त आज हुँदैछ । हिजो ललितपुरमा साधारण सभाको उद्घाटन भएको थियो भने आज प्रज्ञा भवन कमलादीमा चुनाव सुरु भएको छ ।
बिहान ८ बजेदेखि सुरु भएको निर्वाचन दिउँसो ४ बजेसम्म चल्नेछ । निर्वाचनको मत परिणमा बुधबारसम्ममा आयसक्ने बताइएको छ ।
विभिन्न कानुनी उल्झन, आन्तरिक विवाद र अदालतको स्थगन आदेशपछि बल्ल तय भएको साधारण सभाले महासंघलाई आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्न लागेको हो ।
हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ यो निर्वाचनपछि स्वतः अध्यक्ष बन्दैछन् ।
महासंघको ७३ सदस्यीय नयाँ कार्यसमितिका लागि कुल १३७ जनाले उम्मेदवारी दिएका छन् । देशभरबाट २,१५३ जना मतदाताले महासंघको निर्वाचनमा भाग लिने बताइएको छ ।
वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष (जिल्ला–नगर, वस्तुगत र एसोसिएट) र विभिन्न समूहका सदस्य पदका लागि व्यवसायीहरू प्यानल नै बनाएर चुनावी मैदानमा छन् ।






















