पोखरा । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले माघ १३–१५ गते पोखरा ग्रान्डमा ‘ एमडीआरटी’ अचिभर्स अवार्ड–२०२६ सम्पन्न गरेको छ । सन् २०२५ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्ममा ‘ एमडीआरटी २०२६’ का लागि योग्य भएका ११० जना अभिकर्तालाई सम्मानित गरिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले एमडीआरटी जस्तो अन्तर्राष्ट्रिय संस्थाले तोकेको मापदण्ड पूरा गरी क्वालिफाई हुन सफल भई कार्यक्रममा सामेल भएका अभिकर्ताहरुलाई बधाई दिँदै आगामी दिनका लागि शुभकामना व्यक्त गरे । क्वालिफाई भएका अभिकर्ताहरूलाई अन्तर्राष्ट्रियस्तरमा गई एक्स्पोजर लिन उनले आग्रह गरे ।
अग्रवालले बीमा क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा भएका असल अभ्यासहरूसँग साक्षात्कार हुन यस किसिमको कार्यक्रमले सहयोग गर्नुका साथसाथै नेपालमा पनि बीमासम्बन्धी नीति निर्माणमा सहयोग पुर्याउने बताए । विश्व अर्थतन्त्रमा आएका आर्थिक मन्दीका प्रभाव नेपालमा पनि परेको र यस कठिन समयका बावजुद पनि सफल भएका सबै अभिकर्ताहरूको उनले प्रशंसा गरे । आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग हरेक क्षेत्रमा बढ्दै गएको र आगामी दिनमा विभिन्न क्षेत्रमा रोजगारीमा कटौती हुने खालको अवस्था सिर्जना भएको तर बीमा अभिकर्ताको काम कहिले पनि विस्थापित नहुने हुँदा उनीहरु एकदमै सुरक्षित पेशामा रहेको बताउँदै उनले सो पेशाको गरिमा र महिमालाई ख्याल गर्दै जीवन बीमाको सचेतना आम नागरिकबीच पुर्याउन आग्रह गरे ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीले भव्य कार्यक्रम आयोजना गर्न पाउँदा मन हर्षित भएको बताए । नेपाल लाइफले बीमा बजारको करिव एक तिहाइ हिस्सा ओगटेको र आगामी दिनमा आम नागरिकबीच बीमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन आग्रह गरेका छन् । पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरु रहेको साथै उनीहरुकै अथक मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफू विश्वस्त रहेको बताए । अभिकर्ताहरुको चौतर्फी विकासका निम्ति कम्पनी संवेदनशील रहेको कुरा समेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए । अभिकर्ता भनेको प्रगतिको सहयात्री भएको र सोको महत्वलाई मनन गर्दै आम नेपाली नागरिकलाई बीमाको उपयोगिता र औचित्यता प्रकाश पार्न सकिएमा नेपालको बीमा बजारमा प्रचुर सम्भावना रहेको र यसलाई मूर्तता प्रदान गर्न ठोस कार्ययोजनासहित अघि लम्कन आग्रह गरे ।
कार्यक्रममा कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले सम्मानित हुने सबैलाई बधाई दिदै आगामी वर्ष झन् बढी संख्यामा क्वालिफाईहरुलाई सम्मान गर्न कम्पनी लालायित रहेको बताए । आगामी दिनमा थप उर्जाका साथ बीमालाई नेपालीको घरदैलोसम्म पुर्याउन कुनै कसर बाँकी नराखी युद्धस्तरमा सम्पूर्ण अभिकर्ताहरु एक जुट भई लाग्न आग्रह गरे ।
पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसीले गत वर्षको लक्ष्य प्राप्तिका निम्ति सबै अभिकर्तालाई धन्यवाद ज्ञापन गरे । नेपाल लाइफका अभिकर्ता नेपालकै सबैभन्दा अब्बल र सक्षम अभिकर्ता रहेको बताए । जीवन बीमा क्षेत्रको अग्रणी संस्था नेपाल लाइफको बजार हिस्सा अझ बढाउनका निम्ति र बीमितको विश्वासलाई कायम राखिराख्न नेपाल लाइफका सम्पूर्ण अभिकर्ताहरु प्रतिबद्ध रहेको बताए ।
पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले कम्पनीले आयोजना गरेको भव्य र सभ्य कार्यक्रमका लागि कम्पनी व्यवस्थापनलाई धन्यवाद ज्ञापन गरे । उनले सम्पूर्ण क्वालिफाइड एमडीआरटीहरुलाई धन्यवाद तथा बधाई ज्ञापन गरे । उनले कम्पनीले अभिकर्ता र बीमितको हकहितका लागि चालिरहेको कदमहरूको सराहना गरे र आगामी दिनमा पनि यसै किसिमको साथ सहयोग कम्पनी व्यवस्थापनबाट प्राप्त हुनेमा आफू आश्वस्त रहेको बताए ।
उपस्थित अभिकर्ताहरुको तर्फबाट मुक्तिनाथ काप्रीले नेपाल लाइफको सहयोग, मार्गदर्शन, उत्प्रेरणाले नै गर्दा आज यो संख्यामा एमडीआरटीह, सीओटी बन्न सफल भएको र यस यात्रामा सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गरे । यस कम्पनीले अभिकर्ताको सिप विकासका निम्ति विभिन्न कार्यक्रम गर्दै आएकोमा प्रशंशा गरे र आगामी दिनमा थप परिस्कृत बनाउन व्यवस्थापनलाई सुझाव दिए ।
३ दिन सम्म चलेको कार्यक्रममा गायक अस्मिता अधिकारी, महेश काफ्ले र बद्रि पंगेनीको विशेष गायन प्रस्तुति रहेको थियो । त्यस्तै कमेडियन सुबोध गौतम र प्रभात लामाले पनि आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा मोटीभेसनल स्पिकर सुगरिका केसीले उपस्थित अभिकर्ताहरुलाई मोटीभेसन प्रदान गरेका थिए ।






















