काठमाडौं । ब्राजिल र पाराग्वे विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् ।
इन्जुरी समय सकिन एक मिनेट बाँकी रहँदा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई जापानविरुद्ध २–१ को रोमाञ्चक जित दिलाएर अन्तिम १६ मा स्थान बनाएका हुन् । यो गोलसँगै पाँच पटकको विश्वविजेता ब्राजिल विश्वकपको राउन्ड अफ ३२ बाट प्रि क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको हो । खेलको ५६औं मिनेटमा कासेमिरोले पहिलो गोल गरेका थिए ।
यसअघि पहिलो हाफको २९ औं मिनेटमा जापानले सानोको गोलमार्फत अग्रता लिएको थियो ।
यता चार पटकको विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । दक्षिण अमेरिकी राष्ट्र पाराग्वेले जर्मनीलाई सडनडेथमा ४–३ ले पराजित गरेको हो । पाराग्वेका लागि जोसे क्यानालेले निर्णायक पेनाल्टी प्रहार गोल गरेका हुन् ।
सन् २००२ मा जापान कोरियामा भएको विश्वकपको अन्तिम १६ मा जर्मनीसँगै पराजित भएको पाराग्वेले २४ वर्षपछि त्यो हारको बदला समेत लिएको छ । निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयमको खेल १–१ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट तय भएको हो । पाराग्वेले अब फ्रान्स र स्वीडेन बीचको विजेतासँग अन्तिम १६ मा खेल्नेछ ।
खेलमा जुलियो इनसिसोले ४२ औं मिनेटमा गोल गर्दै पाराग्वेलाई पहिले अग्रता दिलाएका थिए भने काई हाभार्टले ५४ औं मिनेटमा जर्मनीका लागि बराबरी गोल फर्काएका थिए । अतिरिक्त समयमको १२औं (१०२औं) मिनेटमा जर्मनीका जोनाथान ताहले गोल गरेपनि विपक्षी खेलाडीलाई फल भएका कारण भिएआर जाँचपछि गोलले मान्यता पाएन ।





















