skip this News Page Tips Ad Road Block

राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ सदस्य मनोनित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषको इतिहास र गरिमालाई मध्यनजर गर्दै सरकारले विख्यात ३ जना व्यक्तित्वहरूलाई सदस्यमा मनोनयन गरेको छ । संस्थाकी अध्यक्ष समेत रहेकी कृषि,वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कोषको ऐनमा भएको प्रबधान अनुसार अन्तर्राष्ट्रिय व्यक्तित्वहरू मध्येबाट तीनजनालाई मनोनयन गरेकी हुन् ।

संस्थाको अन्तर्राष्ट्रिय साख अभिवृद्धि गर्न र वैज्ञानिक संरक्षणलाई थप गति दिन बेलायतका हाउस अफ लर्डका लर्ड क्यामोस विलियम स्टोनर, विश्वविख्यात संरक्षणकर्मी एवं वन्यजन्तु विज्ञ डा. एरिक डाइनर्स्टाइन र अस्ट्रेलियन प्राध्यापक विन्डी राइटलाई सदस्यमा मनोनित गरेकी हुन् ।

कोषको सञ्चालक समितिमा मनोनित भएका अन्तर्राष्ट्रिय सदस्यहरूको व्यक्तिगत प्रोफाइल वैश्विक स्तरमै निकै वजनदार रहेको बताइएको छ । तीमध्ये लर्ड क्यामोस विलियम स्टोनर र इरिक डाइर्नस्टन नेपालको संरक्षण इतिहाससँग जोडिएका व्यक्तित्व हुन् । बेलायतको यूके नेपाल ट्रस्टका अध्यक्ष समेत रहेका ८ औँ ब्यारोन क्यामोस (विलियम स्टोनर)को परिवार नेपालको राजनीतिक र कूटनीतिक इतिहाससँग पुरानो र ऐतिहासिक सम्बन्ध छ । लर्ड क्यामोसको परिवार नेपालको संरक्षणमा विगतदेखि नै जोडिँदै आएको हो । उनले अहिले पनि ब्रिटिश परोपकारी माध्यमबाट नेपालको जैविक विविधता संरक्षणमा ठूलो योगदान पुर्‍याइरहेका छन् ।

त्यस्तै, सन् १९७०–८० को दशकमा चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्घे गैँडा र पाटेबाघको रैथाने आहारविहारबारे प्रारम्भिक र ऐतिहासिक अनुसन्धानमा गर्ने वैज्ञानिकहरूमध्येमा डा.एरिक डाइनरस्टाइन पनि पर्दछन् । उनी विश्व वन्यजन्तु कोषमा २५ वर्ष मुख्य वैज्ञानिकका रूपमा नेतृत्व गर्दै ुतराई आर्क ल्यान्डस्केपु को अवधारणा कोरेका थिए । अस्ट्रेलियाको फेडरेसन युनिभर्सिटीकी डिन रहेकी प्रा.डा. विन्डी राइटले विगत एक दशकदेखि नेपालमा सालक संरक्षण,मध्यवर्ती क्षेत्र व्यवस्थापन तथा मानव(वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा अस्ट्रेलियन विद्यार्थीहरूलाई समेटेर निरन्तर स्थलगत प्राज्ञिक सहकार्य गर्दै आएकी छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पर्यावरण मन्त्री चौधरीलाई नै कोषको अध्यक्षको जिम्मेवारी दिएपछि मन्त्री चौधरीले कोषको ऐतिहासिक गरिमालाई उकास्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । कोषको संस्थागत विरासतलाई विश्वमञ्चमा बलियो ग्लोबल प्रोफाइलको रूपमा स्थापित गर्ने योजना छ । विश्वविख्यात वैज्ञानिक, प्राज्ञिक, व्यवसायिक, युवा र कूटनीतिक व्यक्तित्वहरूलाई कोषको सदस्यमा मनोनित गरेर नेपालको संरक्षण अभ्यासलाई आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय दातृ निकायहरूसँग जोड्न नयाँ गति प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

स्थानीय समुदायको जीविकोपार्जन सुधार, वैज्ञानिक वन्यजन्तु व्यवस्थापन र जलवायु परिवर्तनका चुनौतीहरूसँग लड्न यो उच्चस्तरीय समितिले दूरगामी नीतिगत जग बसाल्ने विश्वास संरक्षणविद्हरूले लिएका छन् ।

विगत चार दशकभन्दा लामो गौरवशाली इतिहास बोकेको कोषले नेपालमा समुदायमा आधारित संरक्षण र जैविक विविधताको क्षेत्रमा विश्वमै उदाहरणीय काम गरेको छ । संस्थामा मनोनित गरिएका व्यक्तित्वहरूले कोषको नीतिगत र नैतिक उन्नयनमा ठूलो रणनीतिक फड्को मार्ने अपेक्षा गरिएको छ । गणतन्त्र आउनुअघि कोषको अध्यक्षमा अधिराजकुमार अध्यक्ष हुन्थे । अधिराजकुमारले विख्यात व्यक्तित्वहरूलाई सदस्यमा मनोनित गर्थे । पछिल्ला वर्षहरूमा दलका नेताहरूले कोषमा विज्ञभन्दा पनि कार्यकर्ताहरूलाई सदस्यमा भर्ती गर्दा विकृत्ति मौलाएको थियो । कोषको सदस्य हुने र कोषको नाममा अन्य दातृ निकायहरूसँग सम्पर्क बढाएर आफ्नो व्यक्तिगत परियोजनाहरू ल्याउन तत्लीन देखिन्थे ।

मन्त्री चौधरीले कोषको सदस्यमा मनोनित हुने व्यक्तिहरू आफैँमा स्थापित एवं पहिचान भएका व्यक्तिहरूलाई ल्याइने प्रतिबद्धता व्यक्त गरेकी छन् । मन्त्री चौधरीले चाँडै नै कोषको कर्मचारी प्रशासन सम्बन्धीको विनियमावली संशोधन गर्ने प्रतिबद्धता जनाएकी छन् ।

Health Tips Ad Road Block