skip this News Page Tips Ad Road Block

आज र भोलि देशका विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने भन्दै सतर्क रहन आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग उद्दृत गर्दै प्राधिकरणले आज र भोलि मनसुनी गतिविधि बढ्न गई मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ सहित भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षाको समेत संभावना रहेकाले सतर्क रहन भनेको हो ।

यसैगरी देशका पहाडी र तराई भू–भागका धेरै स्थानमा तथा हिमाली भू–भागका केही स्थानमा समेत मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको संभावना रहेको विभागले जनाएको छ। यस्तो बेला अकस्मात बाढी, पहिरो, कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न प्राधिकरणले सबैलाई अनुरोध गरेको छ ।

जोखिमको अवस्थालाई मध्यनजर गरी यसप्रकारको सतर्कता अपनाउनुपर्नेछ

अकस्मात बाढी आउनसक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा गर्नेहरु, पहिरोको जोखिममा रहेका स्थान तथा खोलारनदी किनाराका बस्तीका बासिन्दाहरुले बढी सतर्कता अपनाउने।

डुबान हुने बस्तीका बासिन्दाहरुले उँचो र सुरक्षित स्थानबारे आफूले पनि जानकारी लिने र अरुलाई पनि जानकारी दिने। आवश्यक पर्नासाथ सुरक्षित रुपमा सुरक्षित स्थानमा जाने।

तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहने।

जोखिमयुक्त राजमार्ग र सडकहरुमा डोजर, एक्साभेटर, लोडर लगायतका साधनहरु तयारी अवस्थामा राखे।

पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरुले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही अलर्टमा रहने।

वर्षा र बाढीबारे जानकारी लिन ११५५, विप‌द्मा मद्दत माग्न ११४९, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल, नेपालको १११४ हटलाइन नम्बर मोवाइलमा सेभ गरी राखे र आवश्यक पर्नासाथ फोन गर्ने।

साथै प्राधिकरणले जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अद्यावधिक पूर्वानुमान/पूर्वसूचना/चेतावनीबारे जानकारी लिइरहन पनि भनेको छ ।

Health Tips Ad Road Block