दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा विजय हासिल गर्ने दाबी गरेका छन् । कांग्रेस थिग्रिन नसकेको र पूर्वमाओवादीका धेरै मतदाताहरु पनि एमालेमै भोट हाल्ने मनस्थितिमा रहेको उल्लेख गर्दै उनले कुल खसेको मतको दुई तिहाई भन्दा बढी मत एमालेले ल्याउने दाबी गरेका हुन् ।
बुधबार झापाको कमल गाउँपालिकाका कार्यकर्ताहरुसँगको भेटमा उनले यहाँको विकास, रुपान्तरण, जनआधारका कारण सिंगो क्षेत्र नै एमालेको पक्षमा एक ढिक्का रहेको बताए । त्यसक्रममा उनले अहिले राजनीतिलाई अपराधीकरण हुनबाट जोगाउने बेला आएको पनि बताए । गत भदौमा भएको आन्दोलनमा राजनीतिक कार्य भन्दा बढि आपराधिक कार्यहरु भएको उल्लेख गर्दै त्यस बेला केही व्यक्तिको आन्दोलनका क्रममा मृत्यु भएको भए पनि धेरै जसो आपराधिक कार्यका कारण मृत्यु भएको उनले उल्लेख गरे ।
‘हामीले भने अनुसार चल्नुपर्छ भन्ने पनि आउलान्, दबाब देलान्’ अध्यक्ष ओलीले भने, ‘त्यस्तो दबाबलाई स्विकार्ने कुरा आउँदैन ।’ काँग्रेस र एमाले मिल्न नदिने, देशमा विदेशीले केही गर्न नपाउने भए भनेर यि सब गराईएको उनको भनाई छ । अस्थिरताको खेती गर्नेहरुले यि सब काम गरेको भन्दै त्यस्ताबाट देशलाई जोगाउनु पर्ने अध्यक्ष ओलीले उल्लेख गरे । ‘त्यो त आपराधिक घट्ना हो नि । नगरपालिका किन जलाएको, बिजनेस कम्प्लेक्स किन जलाएको ?’ उनले भने, ‘दमक नमूना शहरको रुपमा विकास भईरहेको छ । त्यो भवनमा भ्यू टावरमा होइन आईटी हबको रुपमा विकास गर्न सकिन्थ्यो नि, यसरी देश जलाएर, जनता आतङ्कित पारेर पनि हुन्छ ?’
दमक, कमल, गौरादह, गौरीगञ्ज लगायतका क्षेत्रमा भएका विकास र प्रगति सबैका आँखा अघि छर्लङ्ग रहेको भन्दै उनले यो देश, यो क्षेत्रका लागि कुनै योगदान नगरेका व्यक्तिहरुबाट केही हुन पनि नसक्ने दाबी गरे । यहाँको नदी कटान नियन्त्रण, बाँध निर्माण, पुल तथा सडक निर्माण, विद्यालय भवन, विद्युतीकरण, खानेपानी, स्वास्थ्य क्षेत्र हरेक क्षेत्रमा भएको विकासबारे कसैलाई बुझ्न बाँकी रहेछ भने बुझाउन पनि उनको आग्रह छ ।
दमकमा अपांगता भएकाहरुको सिक्री झिक्ने, अपमान गर्नेहरुबाट जोगाउँदै विकासका कामलाई थप तिव्रता दिन जरुरी रहेको उनले उल्लेख गरे । सुकुम्बासी बस्तीमा डोजर चलाउनेहरुलाई भूमिहिन नागरिकलाई कसरी बसोबासको व्यवस्था मिलाउने थाह नहुने भन्दै विपन्न आवास कार्यक्रम, एकिकृत बस्ती विकास लगायतका योजनाबाट धेरैले घरबास पाएको पनि उनले स्मरण गराए । रंगशाला बनाउन थाल्दा अरुले भाषण मात्र गरेर भाँडेको उल्लेख गर्दै अध्यक्ष ओलीले अब अन्तर्राष्ट्रिय स्तरको रंगशाला फागुनको चुनावपछि बनाईने पनि बताए । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले यस क्षेत्रमा रहेका विभिन्न पालिकाका वडास्तरमा रहेका मतदाता र कार्यकर्ताहरुलाई उनले अलग–अलग भेट गरि रहेको एमालेले जनाएको छ ।






















