skip this News Page Tips Ad Road Block

एन.सि.एग्रोटेक इण्डस्ट्रीजको सातौं वार्षिक साधारण सभा सम्पन्न, कृषिमा मुलुकलाई आत्मनिर्भर पार्दै निर्यात गर्ने लक्ष्य

कम्पनी आईपीओ निष्काशनको तयारीमा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशनको तयारीमा रहेको एन.सि. एग्रोटेक इण्डस्ट्रीज लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंको बसुन्धारास्थित सेफ हस्पिटालिटी एण्ड पार्टी भेन्युमा साधारण सभा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पारित गरेको छ । कम्पनीको जारी पूँजी ७५ करोड रुपैयाँ, चुक्ता पूँजी ५६.२५ करोड रुपैयाँ, बैंक ऋण ३.५६ करोड रुपैयाँ, संचित मुनाफा १.४६ करोड रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । कम्पनीकाे प्रति शेयर आम्दानी रु. ४.२० र नेटवर्थ प्रति शेयर रु. १०२.६० रहेको छ । कम्पनीले सर्वसाधारणका लागि १८ लाख ७५ हजार कित्ता अर्थात् १८ करोड ७५ लाख रुपैयाँको आईपीओ जारी गर्ने योजना बनाएको छ । कम्पनीले आईपीओ निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिइसकेको र पाइपलाइनमा रहेकाे छ ।

उद्योग आजभन्दा ७ वर्ष अगाडि स्थापना भएको हो । उद्योगले चिनियाँ प्रविधिको मेसिन उपकरणसहित २ जना प्राविधिकलाई ३ वर्षसम्म वर्क प्रमिट भिसामा ल्याएर उद्योग स्थापना गरेको हो ।

उद्योगले किसानको कृषि उत्पादनपछि खेर गएका धानको भुस, गहुँको भुस, उखुकाे बगास, मकैको पिठो, पिना, चोकर, गहुँ, काठको धुलो, कुखुराको सुली र गाई भैँसीको मल आदिलाई पुनः प्रयोग गरी राजा च्याउ, डल्ले च्याउ, कन्या च्याउ, र अन्य औषधीय गुण भएका च्याउहरु उत्पादन गर्दै आएको छ । विशेष गरी किङ वेस्टर मसरुम नामको अन्तर्राष्ट्रिय ब्राण्डको राजा च्याउ उद्योगको मुख्य आकर्षक उत्पादन हो ।

उद्योगले देशका विभिन्न भेगमा पाइने बाँसहरु संकलन गरी टूथपिक, ससेज स्टिक, मुडाको स्टिक र विभिन्न अर्डर अनुसारको बाँसको सिन्काहरु उत्पादन गरी सो उत्पादन गर्दा खेर जाने भुस र च्याउ उत्पादनपछि खेर जाने वस्तुहरुलाई पुनः प्रयोग गरि कोइला, हुक्का कोइला र अर्गानिक मल उत्पादन गरि किसानहरुलाई नै बिक्री वितरण गर्दै आएको छ । यसले उत्पादनमार्फत राष्ट्रलाई आत्मनिर्भरतर्फ अगाडि बढाइरहेको सभामा जानकारी दिइयाे । उद्योगबाट कुनै पनि चिज खेर नजाने उद्योगका अध्यक्ष यज्ञमूर्ति न्यौपानेले शेयरधनीहरुलाई जानकारी गराए । उद्योगले प्रत्यक्षरुपमा १७० जना भन्दा बढी मानिसहरुलाई रोजगारी दिँदै आएको संचालक दीपक प्रसाद न्यौपानेले सभालाई जानकारी गराए । जसमध्ये ५० प्रतिशत जति महिला कामदारहरु रहेको उनले जानकारी दिए ।

उद्योगले विशेषगरी च्याउ, बाँसबाट बन्ने चिजहरु, कोइला, हुक्का कोईला, अर्गानिक मल, कम्पोस्ट मल, च्याउको बीउ, औषधीय गुण भएका च्याउहरु र त्यसको चिया, पाउडर र क्यापसुल उत्पादन गरेर देशलाई आत्मनिर्भर बनाई विदेशमा निर्यात गर्ने लक्ष्य समेत लिएको छ । सभामा विश्वभरि पाईने विभिन्न प्रकारका खाद्य च्याउ तथा औषधीय गुण भएका च्याउको अनुसन्धानको लागि च्याउ विज्ञ टिकाराम अर्यालको नेतृत्वमा अनुसन्धान तथा विकास विभाग खडा गरी काम गरिरहेको जानकारी दिइयाे । कम्पनीले कृषि उत्पादनमा नयाँ–नयाँ प्रविधि, बीउ, अध्ययन अनुसन्धान, तालिमसहित नेपाललाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनुका साथै अन्य मुलुकमा निर्यात गर्ने लक्ष्य राखेको दाेहाेर्याएकाे छ ।

Health Tips Ad Road Block