काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार शुभ इवेन्टस, गोल्फुटार, काठमाडौंमा कम्पनीका अध्यक्ष रतन लाल केडियाको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा अध्यक्ष केडियाले स्वागत मन्तव्य राख्नुको साथै वार्षिक विवरण समेत पेश गरे । सभाले शेयरधनीहरूका लागि नगद लाभांशसहितका विविध प्रस्तावहरू पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव पारित गरेको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजी ५ अर्ब १ करोड ४९ लाख रुपैयाँको १०.१७८० प्रतिशत (५१ करोड ४ लाख १८ हजार ९७० रुपैयाँ) नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । साथै आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र वित्तीय विवरणहरू समेत स्वीकृत भएका छन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले मर्जरपछि सिर्जित चुनौतीहरूलाई धैर्यतापूर्वक व्यवस्थापन गर्दै कम्पनीलाई सबल र सक्षम रूपमा सञ्चालन गरिरहेको बताएका छन् । सीईओ पाण्डेले संस्थागत सुशासन, ग्राहकमुखी सेवा, प्रविधिको प्रयोग र खर्चमा मितव्ययिता अपनाएका कारण बीमा बजारमा कम्पनीले सम्मानजनक स्थान ओगट्न सफल भएको उनले बताए । सभामा अध्यक्ष केडियाले उपस्थित शेयरधनी, नियामक, बीमित, अभिकर्ता र कर्मचारीहरूलाई कम्पनीको प्रगतिमा पुर्याएको योगदानका लागि धन्यवाद प्रकट गरे । कम्पनीले आगामी दिनमा थप शाखा विस्तार र सूचना प्रविधिको अधिकतम् प्रयोग गर्दै बीमितहरूलाई सरल सेवा प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ ।























