काठमाडौं । यो वर्ष मनसुन सक्रिय हुनुपर्ने समयमा पानी नपरेको होस् या कतै अस्वभाविक वर्षा भएको र मनसुन बाहिरइसकेको अवस्थामा पछिल्लो बाली भित्र्याउने समयमा समेत भएको वर्षा एवं बाढीपहिरोका कारण कृषिमा अर्बाैंको क्षति भएको छ ।
बाली भित्र्याउने समय कार्तिकमा भएको वर्षाले विशेषतः धानबाली र तरकारीमा क्षति पुर्याएको छ । मौसममा केही सुधार हुँदै गएको र पूर्ण तथ्याँक प्राप्त हुन अझै समय लाग्ने भएपनि पाँच अर्ब भन्दा बढीको क्षतिको अनुमान गरिएको छ । असोज र कार्तिककको वर्षाले विशेषतः उत्पादन हुने क्रममा कृषि बालीमा बढी क्षति पुगेको हो । असोजमा मात्र साढे तीन अर्ब ५५ करोड ८७ लाख रुपैयाँ बराबरको क्षति भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुमान छ । कार्तिकमा भएको क्षतिको विवरण संकलन गर्न सम्बन्धित निकायलाई पत्राचार गरिसकेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बाढीपहिरोका कारण बालीमा तीन अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । यस्तै पशुपन्छीमा १४ करोड ९० लाख ५२ हजार, कृषि पूर्वाधारतर्फ चार करोड ५९ लाख पाँच हजार र बिउबिजनतर्फ २७ करोड ९४ लाख चार हजार रुपैयाँको क्षति भएको छ । सबैभन्दा धेरै मधेश प्रदेशमा दुई अर्ब ९८ करोड ४९ लाख रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयको प्रारम्भिक अनुमान छ । बाढीले मधेश प्रदेशका सबै जिल्ला प्रभावित भई नौ हजार १८६ हेक्टर क्षेत्रफलमा डुबान तथा कटान भई धान, तरकारी, फलफूल, उखुमा क्षति पुगेको छ । उक्त प्रदेशमा ९९ हजार ८३३ मेट्रिक टन बाली वस्तुमा क्षति भएको छ । दुई लाख ७७ हजार ८५२ केजी बराबरको माछा र दुई हजार कुखुरामा क्षति पुगेको छ । मन्त्रालयका अनुसार कोशी प्रदेशमा एक हजार ४१४ हेक्टर क्षेत्रफलमा लगाएको धान, तरकारी, अलैँची, अदुवा, केरा आलु, चिया र कोदोमा क्षति भएको छ । कोशी प्रदेश मात्र ३४ करोड २४ लाख २५ हजार रुपियाँ बराबरको क्षति भएको छ । बाढीपहिरोको कारण एक हजार ७१३ हाँस, कुखुरा चार हजार ६९३ केजी माछा नष्ट भएका छन् । यस्तै बागमती प्रदेशमा १२ करोड ४६ लाख तीन हजार रुपैयाँको क्षति भएको छ । डुबान र कटानका कारण ८७ हेक्टर क्षेत्रफलमा लगाएको धान, मकै, तरकारी र कोदोमा क्षति पुगेको छ । बागमती प्रदेशको नुवाकोटमा ४० हेक्टर, काभ्रेमा १० हेक्टर र सिन्धुलीमा ३७ हेक्टर क्षेत्रफलमा लगाएको धान, मकै र तरकारी बालीमा क्षति पुगेको छ । यस्तै गण्डकी प्रदेशमा एक हेक्टर क्षेत्रफलमा धान, तरकारी, सुन्तला र केरामा क्षति पुगेको तथ्यांकले देखाएको छ । लुम्बिनी प्रदेशमा तीन हेक्टर क्षेत्रफलमा लगाएको धान बाली बालुवाले पुरेको र डुबानमा परेको छ ।






















