काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । त्यसमध्ये २० प्रतिशत बोनस शेयर रहेको छ भने ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ ।
सो प्रस्ताव पारित गर्न कम्पनीले कार्तिक ३० गते, आइतबार, कम्पनीको रजिष्टर्ड कार्यालय विरगञ्ज, पर्सामा बिहान १० बजे २५ औँ वार्षिक साधारण सभा बोलाएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कार्तिक २० गते बिहीबार बुकक्लोज गर्ने भएको छ । यस अनुसार कार्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।






















