काठमाडौं । देशभरका ७५३ पालिकामा आयुर्वेद सेवा पुगेको छ । धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस २०८२ को सन्दर्भमा अन्तक्रिया कार्यक्रम गरी कविराजको दरबन्दी राखेर सेवालाई चुस्तदुरुस्त बनाउन विभाग लागेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकु, काठमाडौंका नि. महानिर्देशक डा. श्यामबाबु यादवले जानकारी दिएका छन् । निरोगी नेपाल बनाउन आफूहरु लागिपरेको नि. महानिर्देशक यादवको भनाइ छ । विद्यालय आयुर्वेद कार्यक्रम अगाडि बढाइएको, औषधिको गुणस्तर कायम गर्न मापदण्ड जारी गरिएको, निशुल्क औषधि वितरण २३ बाट ३५ पुर्याइएको, सातै प्रदेशका १०० शैयाको अस्पताल स्थापनाको कार्य अगाडि बढाइएको लगायतका कार्यक्रमबारे उनले कार्यक्रममा जानकारी दिएका छन् । उनले निरोगी नेपाल बनाउन तथा जन्मेका बच्चाहरुको रोग प्रतिरोधात्मक क्षमता बढाउन २५ जिल्लामा एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई स्वर्ण विन्दु प्रशान कार्यक्रम लागु गरिएको जानकारी दिए । अर्काे वर्ष ७७ वटै जिल्लामा यस कार्यक्रमलाई पुर्याउने उनले जानकारी दिए ।
विभागका वरिष्ठ कन्सलटेन्ट आयुर्वेद विज्ञ (सूचना अधिकारी) डा. मुनकर्ण थापाले पौराणिक भनाइलाई स्मरण गर्दै प्रत्येक साल धन्वन्तरी जयन्ती मनाइने विषयबारे प्रष्ट पारे । उनले आयुर्वेद चिकित्सा र धन्वन्तरीलाई सम्झिए । संघ, प्रदेश र स्थानीय तहले हरेक वर्ष कागतिहारको दिन धन्वन्तरी जयन्ती मनाउने र यो दिन मानव जातीको सुस्वास्थ्य, दिर्घ जीवन र आरोग्य प्राप्तिको कामना गरेर मनाइने गरिन्छ ।
कार्यक्रममा आयुर्वेद चिकित्सक डा. वंश दीप शर्मा खरेलले स्वर्ण विन्दु प्रशान कार्यक्रमलाई बालबालिकाको रोग प्रतिरोधात्मक क्षत्रता बढाउने कार्यक्रम भएको र यसलाई भ्याक्सिनको रुपमा नबुझ्न सबैसामु आग्रह गरे । उनले स्वर्ण प्राशन आयुर्वेदको अनमोल उपहार भएको दाबी गर्दै यसले बालबालिकाको स्वस्थ भविष्य निर्माणमा सहयोग गर्ने बताए । अनावश्यक भ्रम र हो–हल्लाको पछि नलाग्न खरेलले नागरिकलाई आग्रह गरे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको परिचय, यसले दिने सेवा, लाभग्राही आयुर्वेद चिकित्सा लगायतबारे विभागले जारी गरेको यस्तो छ विभागको प्रेस विज्ञप्ति
आरोग्यताको आधार । योग, ध्यान र आयुर्वेद उपचार ।।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धति संस्थागत संरचना परिचय
नेपालमा हाल प्रचलित चिकित्सा पद्धतिहरुमा एलोपैथिक चिकित्सा प्रणाली, आयुर्वेद चिकित्सा प्रणाली, होमियोपैथिक चिकित्सा प्रणाली, यूनानी चिकित्सा प्रणाली र प्राकृतिक चिकित्सा प्रणालीहरु मुख्य हुन्। यी चिकित्सा पद्धतिहरु नेपाल सरकारद्वारा मान्यता प्राप्त चिकित्सा पद्धतिहरु हुन्। यस बाहेक सेवा रिग्पा वा आम्ची पद्धति नेपालको हिमाली क्षेत्रमा परम्परागत रुपमा हिमाली समुदायमा चलन चल्तीमा रहेको पाइन्छ । विश्व स्वास्थ्य संगठनको एक अध्ययन अनुसार विश्व भरि लगभग ८० प्रतिशत जनसंख्या प्राथमिक उपचारको लागि कुनै न कुनै रुपमा परम्परागत चिकित्सा पद्धति प्रयोग गर्दछन्।
हाम्रो देश नेपालमा पनि आफ्नै मौलिक चिकित्सा पद्धतिका रुपमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धति परापूर्व काल देखि नै प्रचलित छ र राज्यले पनि यसलाई मान्यता दिएको छ । हजारौं वर्ष पुरानो इतिहास भएको आयुर्वेदलाई आधुनिक नेपालको इतिहासमा १७औं शताब्दीमा राजा प्रताप मल्लको पालादेखि वैद्यखाना स्थापना गरि विधिवत् रुपमा संचालनमा ल्याएको इतिहास पाइन्छ ।
नेपालको संविधान २०७२ र आयुर्वेद तथा वैकल्पिक चिकित्सा
नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने एवं स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ । संविधानको भाग–४ः राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व, धारा ५१. राज्यका नीतिहरू अन्तर्गत उपधारा (ज) मा नागरिकका आधारभूत आवश्यकतासम्बन्धी नीतिमा नेपालको परम्परागत चिकित्सा पद्धतिको रूपमा रहेको आयुर्वेदिक, प्राकृतिक चिकित्सा र होमियोपैथिक लगायत स्वास्थ्य पद्धतिको संरक्षण र प्रवर्धन गर्ने भन्ने उल्लेख गरिएको छ ।
संघीय संरचनामा रहेका आयुर्वेद तथा वैकल्पिक चिकित्साका संस्थाहरु
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकु काठमाडौं ।
नरदेवी आयुर्वेद चिकित्सालय, नरदेवी, काठमाडौं ।
सिंहदरबार वैद्यखाना, अनामनगर, काठमाडौं ।
राष्ट्रिय आयुर्वेद अनसन्धान तथा तालिम केन्द्र, कीर्तिपुर ।
आयुर्वेद चिकित्सा परिषद नेपाल ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा।
औषधि व्यवस्था विभाग अन्तर्गत आयुर्वेद शाखा ।
पशुपति होमियोपैथिक अस्पताल, हरिहरभवन, ललितपुर ।
प्रदेश सरकार मातहत आयुर्वेद तथा वैकल्पिक चिकित्साका संस्थाहरु
हरेक प्रदेशमा प्रत्येक जिल्लामा जिल्लास्तरीय आयुर्वेद स्वास्थ्य संस्थाको रुपमा ७७ जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र÷आयुर्वेद तथा
वैकल्पिक चिकित्सालय संचालनमा रहेका छन्।
प्रादेशिक आयुर्वेद अस्पताल कोशी, झापा, लखनपुर संचालनमा रहेको ।
प्रादेशिक आयुर्वेद अस्पताल, धनगढी, सुदूरपश्चिम संचालनमा रहेको ।
लुम्बिनी प्रदेशको बिजौरी, दाङ्गमा ५० शैयाको प्रदेशस्तरीय आयुर्वेद चिकित्सालय संचालनमा रहेको ।
गण्डकी प्रदेशमा प्रदेश स्तरीय आयुर्वेद चिकित्सालय स्थापनाको कममा हालसालै जग्गा अधिग्रहण भएको र भवन निर्माणको लागि प्रक्रियामा रहेको।
स्थानीय सरकार मातहतका आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य संस्थाहरु
स्थानीय सरकार मातहत विभिन्न पालिकाहरूमा आयुर्वेद औषधालयहरु क्रियाशिल छन् । ७५३ स्थानीय निकायहरु रहेकोमा सबै स्थानीय निकायमा आयुर्वेद औषधालयहरु छैनन् । हालसम्म ३०५ वटा आयुर्वेद औषधालयहरु विभिन्न स्थानीय निकायमा संचालित छन ।
आयुर्वेदका कुनै पनि संस्थाहरु नभएका स्थानीय नगरपालिका र गाउँपालिकाहरुमा कम्तिमा एक नागरिक आरोग्य सेवा केन्द्र रहने गरि कुल ५३८ स्थानमा आयुर्वेद स्वास्थ्य सेवाका कार्याक्रमहरु संचालनमा आएका छन् ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागद्वारा हाशिल गरिएका केही प्रमुख उपलब्धिहरुः
आयुर्वेद तथा योगको माध्यमबाट स्वस्थ जीवनशैली प्रवर्धन गर्दै नसर्ने रोग न्यूनीकरणको लागि ३२६८ स्थानमा नागरिक आरोग्य अभियान संचालन गरेको। जेष्ठ नागरिक कार्यक्रम रसायन औषधि तथा पंचकर्म सेवा मार्फत २,१९,८८९ जना जेष्ठ नागरिकहरुको स्वास्थ्य प्रवर्धन गरिएको। खुला व्यायामशाला निर्माण (देशभर २३ स्थान) नयाँ नियुक्ति तथा न्यून कार्यसम्पादन भएका आयुर्वेद संस्थाहरुको छनोट गरी मधेश प्रदेश, बाराको पथलैया स्वास्थ्य तालिम केन्द्रमा ४२ जनालाई आयुर्वेद स्वास्थ्य सूचना प्रणाली तालिम प्रदान।
फागुन महिनामा संचालित एनडीसी कन्ट्रोल क्याम्पेन (नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान फागुन २०८१) अन्तरगत यस विभाग मातहतका निकायमा रक्तचाप जाँच, मृगौला सम्बन्धि रोगको जाँच, बीएमआइ मेजरमेन्ट, सुगर टेस्टिङ लगायतका रोगहरु गरी ४७ हजार बिरामीहरु लाभान्वित भएका जम्मा बिरामी संख्याः २४,१०,००० जना । आधारभूत आयुर्वेद सेवा स्तनपायी आमा कार्यकम अन्तर्गत स्तनपायी आमालाई दुग्धवर्धक औषधि वितरणमार्फत ४३,६६२ जना आमा र शिशुको स्वास्थ्य प्रवर्धन गरिएको। नागरिक आरोग्य अभियानबाट प्रवर्द्धनात्मक योग सेवामार्फत ३,९०,४१३ जनालाई सेवा प्रदान गरिएको। पूर्व पंचकर्म सेवा अन्तर्गत १,९७,६१६ जनालाई सेवा प्रदान गरिएको। विद्यालय शिक्षकः नर्सलाई तालिम (गण्डकी, बागमती र मधेस प्रदेश) ६६ जना । अन्तर्राष्ट्रिय योग दिवसका दिनमा २४० जनाको सहभागितामा सम्पन्न राष्ट्रिय योग दिवस १५० जनाको सहभागितामा राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती विविध कार्यक्रमका साथ सम्पन्न । चौतारा पशुपति र देवघाट वृद्धाश्रममा रहेका २८० जना जेष्ठ नागरिकहरुलाई निशुल्क रसायन लगायतका औषधि वितरणका साथै सामान्य स्वास्थ्य परिक्षण। स्वस्थ जीवनशैली प्रवर्धनको लागि १४९० स्थानमा नागरिक आरोग्य समूह गठन गरेको। विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम १,६५,३६२ जनालाई विभिन्न विद्यालयहरुमा संचालन गरिएको। सोवा रिरपा, आम्चि, अकुपंचर, होमियोप्याथि चिकित्सा सेवा सुद्धिकरणका लागि समन्वय तथा विविध कार्यक्रमहरुका साथ सम्पन्न गरियो।
आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धि हालसम्मका नीतिहरु
राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीति २०५२ रहेको।
राष्ट्रिय स्वास्थ्य नीति २०७६ मा रहेका आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धि नीति तथा रणनीति
नीतिः आयुर्वेद, प्राकृतिक चिकित्सा, योग तथा होमियोप्याविक लगायतका चिकित्सा, प्रणालीलाई एकीकृत रूपमा विकास र विस्तार गरिनेछ ।
रणनीतिहरु
संघीय संरचना अनुरूप आयुवेद चिकित्सा सम्बन्धी तहगत संस्थाहरूको योजनाबद्द ढंगले विकास तथा विस्तार गरिनेछ ।
योग तथा प्राकृतिक चिकित्सा, होमियोप्याथिक, युनानी, अकुपन्चरलगायत अन्य विकित्सा पद्दतिलाई संघीय संरचनाअनुरूप स्थानीय तहसम्म विकास र विस्तार गरिनेछ ।
स्थानीय स्तरमा उपलब्ध औषधीजन्य जडीबुटी, खनिज एवम् जान्तव द्रव्यको पहिचान, संरक्षण, संकलन, प्रवद्र्धन गर्दै आयुर्वेद चिकित्सामा वैज्ञानिक अनुसन्धान तथा सदुपयोग गरी आत्मनिर्भरता अभिवृद्धि गरिनेछ ।
प्रचलित तथा परम्परागत चिकित्सा सेवाहरूलाई निश्चित मापदण्डका आधारमा सूचीकृत, व्यवस्थित तथा नियमन गरिनेछ ।
आयुर्वेद, पञ्चकर्म, योग तथा प्राकृतिक चिकित्साको विशिष्टिकृत सेवासहितको राष्ट्रिय आयुर्वेद, योग तथा पञ्चकर्म केन्द्रको स्थापना गरी यी क्षेत्रलाई स्वास्थ्य पर्यटनमा टेवा पुरयाउने गरी क्रमशः संघीय संरचना बमोजिम विस्तार गर्दै लगिनेछ ।
आयुर्वेद स्वास्थ्य विज्ञान प्रतिष्ठान र योगमाया आयुवेद विश्वविद्यालयको प्रभावकारी संचालन गरी आयुर्वेद विज्ञान र प्राकृतिक चिकित्सा प्रणालीको अध्ययन, उपचार र अनुसन्धान गरिनु आवश्यकता छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्साका सबल पक्षहरु
‘सबैको लागि स्वास्थ्य’ प्राप्तिका लागि विश्व स्वास्थ्य संगठनले समेत आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिको प्रयोगलाई बढावा दिएको ।
नसर्ने रोग व्यवस्थापनमा प्रभावकारी भएको अध्ययन अनुसन्धानले देखाएको ।
स्वास्थ्य जीवन यापन तथा मानसिक एवम् सामाजिक स्वास्थ्यको लागि दिनचर्या, ऋतुचर्या, योगको व्यवस्था भएको ।
देशभित्रकै जडिबुटि तथा कच्चा पदार्थको प्रयोग हुने ।
स्वास्थ्य पर्यटनको समेत स्रोत ।
उपचरात्मक, प्रतिरोधात्मक, सम्बर्धनात्मक स्वास्थ्य प्राप्ति हुने तथा प्रायः दुष्प्रभावरहित एवम् अपुनर्भव चिकित्सा। एक रोगको चिकित्सा गर्दा अको रोग उत्पन्न नहुने।
स्वास्थ्य प्राप्तिको साथै जडिबुटिबाट व्यापार घाटा कम गर्न सकिने ।
पूर्वकर्म, पंचकर्म, रसायन तथा क्षार सूत्र जस्ता सेवाको लोकप्रियता ।
न्यूट्रास्यूटिकल, कस्मास्यूटिकल तथा फर्मास्यूटिकल तीन वटै किसिमले प्रयोग ।
आयुर्वेद तथा वैकल्पिक चिकित्साका दुर्बल पक्षहरु
प्राकृतिक चिकित्सा, योग, स्वाः रिग्पा, होमियोपैथिक, यूनानी आदिबाट समुल चिकित्सा राज्यको स्रोत साधन लगानीको हिसाबले प्राथमिकतामा नपरेको ।
आयुर्वेद शिक्षाको विद्यालय स्तरदेखि छुट्टै आयुर्वेद विश्वविद्यालयको व्यवस्था नभएको ।
विशेषज्ञ तथा दक्ष जनशक्तिको अभाव तथा भएको जनशक्तिको उचित व्यवस्थापन हुन नसकेको।
अध्ययन अनुसन्धानमा कमी ।
औषधि तथा कच्चा पदार्थको गुणस्तर निर्धाण तथा नियमनको लागि छुट्टै संयन्त्रको अभाव ।
आयुर्वेद तथा वैकल्पिक चिकित्साका सेवाहरु राष्ट्रिय स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीसँग जोडिने क्रममा प्रभावकारि ।
अन्तर संस्थागत समन्वयमा कमि ।
आधुनिक प्रविधिसँगको समन्वय र प्रयोगमा कमी ।
परम्परागत तथा अन्य विविध तहमा रहेका आयुर्वेद तथा वैकल्पिक चिकित्साका स्वास्थ्यकर्मीहरुको नियमनको अभाव ।
विभिन्न निजी तथा व्यक्तिगत तहबाट भ्रामक तथा विस्मयकारी प्रचार प्रसार ।
परिमार्जित नेपाल आयुर्वेद फर्माकोपिया नभएको ।
नेपालमा आयुर्वेद तथा वैकल्पिक चिकित्सामा फर्माकोभिजिलेन्स प्रणाली विकसित नभएको ।
आयुर्वेद तथा वैकल्पिक चिकित्साका सम्भावनाहरु
नसर्ने रोग व्यवस्थापन तथा स्वस्थ्य जीवनशैलीको लागि विश्वकै ध्यान आयुर्वेद तथा वैकल्पिक चिकित्साका विद्या तिर मोडिएको ।
देश भित्रै कच्चा पदार्थको रुपमा औषधीजन्य वनस्पति तथा सुगन्धित तेल जन्य वनस्पति, तथा खनिजको प्रचूर उपलब्धता ।
औषधीजन्य तथा सुगन्धित तेलजन्य वनस्पति, जान्तव, खनिज जडिबुटीको प्रशोधन पश्चात निकासीले समग्र अर्थतन्त्रमा नै सुधारको सम्भावना
स्वास्थ्य पर्यटनबाट अर्थतन्त्रमा टेवा ।
खाद्य सुरक्षाको प्रत्याभूति ।
नागरिक आरोग्य तथा स्वस्थ्य जीवनशैलीको व्यवस्थापनले औसत आयुमा वृद्धि भई रोग लाग्ने दर र मृत्यु दरमा कमी आउने ।
चुनौतीहरु
औषधीजन्य तवा सुगन्धित तेल जन्य वनस्पति, तथा खनिजको प्राकृतिक स्रोतको चोरी निकासी एवम् अनियन्त्रित दोहन ।
औषधीजन्य तथा सुगन्धित तेल जन्य वनस्पति, तथा खनिजको विना प्रशोधन कौडीको दाममा निकासी ।
औषधीजन्य तथा सुगन्धित तेल जन्य वनस्पतिको यथार्थ पहिचान र यथार्थ आँकलनको अभाव ।
औषधीजन्य तथा सुगन्धित तेल जन्य वनस्पतिबारे कार्य गर्ने एक भन्दा बढी विभागहरु र तिनीहरुबीच समन्वयको कमि ।
अध्ययन, अनुसन्धानमा राज्यको उदासीनता ।
आयुर्वेद तथा वैकल्पिक चिकित्साका सेवाहरुबारे प्रचार प्रसार तथा जनचेतनाको कमि ।
संघ तथा प्रदेश, प्रदेश तथा स्थानीय तहसम्म समन्वय गर्ने आयुर्वेद तथा वैकल्पिक चिकित्साको स्वतन्त्र संयन्त्रको अभाव ।






















