Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

विपिन जोशीको रिहाइका लागि आमा पद्मा र बहिनी पुष्पा अमेरिका प्रस्थान

विश्वव्यापी दबाब सिर्जनामा गैरआवासीय नेपाली संघको ऐक्यबद्धता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासद्वारा अपहरण भई विगत २४ महिनादेखि बेपत्ता रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने उद्देश्यले उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी बुधबार अमेरिका प्रस्थान गरेका छन्।

यसअघि उनीहरू इजरायल पुगेर सम्बन्धित निकायहरूसँग प्रत्यक्ष भेटघाट गरिसकेका थिए। तर ठोस प्रगति नदेखिएकाले थप पहलका लागि संयुक्त राष्ट्रसंघमार्फत अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्ने उदेश्यले अमेरिका गएका हुन्। आमा–छोरीले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका पदाधिकारीहरूसँग भेट गरी छिटोभन्दा छिटो विपिनलाई सकुशल उद्धार गर्न दबाब सिर्जना गरिदिन आग्रह गर्ने जनाइएको छ।

विपिन जोशी कञ्चनपुर निवासी हुन् र सन् २०२३ मा कृषि तालिमका लागि इजरायलको किब्बुज आलुमिम पुगेका थिए। उनी २०८० असोजमा इजरायल–हमास युद्धका क्रममा अपहरणमा परेका थिए र हालसम्म उनको अवस्था अज्ञात रहेको छ। नेपाल सरकारले कूटनीतिक पहल गरिरहेको भए पनि अहिलेसम्म ठोस नतिजा आउन सकेको छैन। परिवार निरन्तर अपील र पहलमा सक्रिय छ र अन्तर्राष्ट्रिय सहयोगका लागि सार्वजनिक अपिल जारी राखेको छ।

जोशी परिवारले गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीलाई भेटी विश्वव्यापी पहल गर्न आग्रह गरेका थिए। त्यसपश्चात संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले अमेरिका बसाइका लागि आवश्यक सहजीकरणको प्रक्रिया अघि बढाएका थिए । अमेरिका बसाइमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् र राष्ट्रिय समन्वय परिषद् अमेरिकाले प्रत्यक्ष सहजीकरण गर्नेछ। क्षेत्रीय संयोजक वेद बस्नेत, एनसीसी अमेरिकाका अध्यक्ष विकाश उप्रेती, आईसीसी सदस्य विष्णु रानामगर, महेश खड्का लगायतको सक्रियतामा उनीहरुलाई सहयोग पुर्‍याउन र आवश्यक कार्यक्रम सञ्चालन गर्न तयारी गरिएको छ।

यसअघि गैरआवासीय नेपाली संघ इजरायलले पनि त्यहाँ विशेष कार्यक्रम आयोजना गरी जोशी परिवारप्रति समर्थन जनाउँदै विपिनको रिहाइका लागि ऐक्यबद्धता व्यक्त गरेको थियो । यस्तै, मध्यपूर्वका विभिन्न राष्ट्रहरूमा समेत कूटनीतिक पहल तथा छलफलका लागि गैरआवासीय नेपाली संघले सहजीकरण गर्नेछ।

Health Tips Ad Road Block