skip this News Page Tips Ad Road Block

मध्यचमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य द्रुत, आउने वैशाखबाट उत्पादन थाल्ने

Citizenlife ad 2082 falgun to baishak 2083

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका– २ मा निर्माण हुने २८.३० मेगावाटको मध्यचमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य द्रुत अगाडि बढेको छ । जलविद्युत आयोजना निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्यका साथ प्राविधिक टोली र कामदारहरू चौबीसै घण्टा काममा खटिएका छन् । २०८१ अन्तिम समयमा यस आयोजनाको शिलान्यास गरिएको थियो । प्रवद्र्धक दार्चुला पावर लिमिटेडले पाँच अर्ब ६६ करोडको लागतमा आयोजनाको निर्माण सम्पन्न गरिने बताएकाे छ । यसमा नेपाल बैंक लिमिटेड र नबिल बैंकको ७५ प्रतिशत ऋण लगानी रहेको र दार्चुला पावर लिमिटेडको २५ प्रतिशत स्वपुँजी रहेको छ । सम्झौताअनुसार नेपाल बैंक लिमिटेड र नबिल बैंकको ७५ प्रतिशत अर्थात् ४२४.५ करोड ऋण लगानी रहेको छ । आयोजनामा नेपाल बैंकले २२४.५ करोड र नबिल बैंकले २०० करोड लगानी गरेका छन् ।

अपि पावर कम्पनीको सहायक कम्पनी दार्चुला पावर लिमिटेडले निर्माण गरिरहेको मध्यचमेलिया जलविद्युत् आयोजना करिब २४ महिना अर्थात् २ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यसअनुसार २०८३ अन्त्यसम्ममा सम्ममा आयोजनाको निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको छ । दार्चुला पावर लिमिटेडका अध्यक्ष सञ्जिव न्यौपानेले हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको र आउने वैशाखबाट आयोजनाबाट उत्पादन थालिने जानकारी दिएका छन् ।

यसमा अपर चमेलिया जलविद्युत् आयोजनाको विद्युत्गृहभन्दा आधा किलोमिटर तल मध्यचमेलियाको बाँध बन्नेछ । कम्पनीको यो चौथो आयोजना भएको जानकारी दिँदै अपि पावर कम्पनीका सञ्चालक गुरु न्यौपानेले आयोजना दार्चुलाबासीको सम्पत्ति भएको बताएका छन् । सञ्चालक न्यौपानेले चमेलिया र महाकाली नदीमा थप सम्भावित आयोजनाहरु निर्माण गर्ने योजना रहेको पनि बताएका छन् ।

मार्मा गाउँपालिका–२ लाम्बगडमा बाँधस्थल रहने आयोजनाको साढे सात किलोमिटर तल मार्मा गाउँपालिका–३ नलबगडमा विद्युत्गृह निर्माण हुनेछ । बाँधस्थलबाट ३.३३ डायमिटरको एमएस (माइल्ड स्टिल) पाइपलाइनद्वारा विद्युत्गृहसम्म पानी पुर्‍याइनेछ । मध्यचमेलियामा पानीको प्रवाह प्रतिसेकेन्ड २५.१७ घनमिटर हुनेछ र नेटहेड (उचाइ) १२८.४६ मिटर रहनेछ । आयोजनाबाट उत्पादित बिजुली नौ किलोमिटर तल बलाच सबस्टेसनमा जोडिनेछ । यस आयोजनाबाट वार्षिक १८५.६२ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ ।

Health Tips Ad Road Block