Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

जेनजी आन्दोलनले निजी क्षेत्रको ८० अर्बको क्षति, साना प्रकृतिका बीमा दाबी तिहारसम्म भुक्तानीः अध्यक्ष वैद्यवार

बीमा कम्पनीसँग २८ अर्ब रिजर्भ छ, आत्तिनुपर्ने अवस्था छैन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र वैद्यवारले साना प्रकृतीको बीमा दाबी तिहारसम्म भुक्तानी गर्ने बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘अर्थतन्त्र पुनरोत्थानको लागि अबको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनले निजी क्षेत्रबाट ८० अर्बको क्षति भएपनि साना प्रकृतीको बीमा दाबी तिहारसम्म भुक्तानी गर्ने बताएका हुन् ।

‘असोज ५ गतेसम्म २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ कुल दाबी आएको छ । यो सरकारी सम्पत्ति बाहेक हो । निजी क्षेत्रले अनुमान गरेको ८० अर्ब क्षतिको हिसाबमा २०–२५ प्रतिशत मात्र बीमाको दायरामा आएको रहेछ । यसमा पनि दुई तिवटा हाई प्रोफाइलका छन् । हाई प्रोफाइल हटाउने हो भने हाम्रो पोजिसन १२–१३ प्रतिशतमा मात्र बीमाको दायरामा आएको रहेछ,’ उनले भने ।

वैद्यवारका अनुसार अहिलेसम्म आन्दोलनका कारण २४७८ वटा बीमा दाबी आवेदन परेको छ । यो दाबी नेपालकै इतिहासमा सबैभन्दा ठूलो हो । यो भन्दाअघि भूकम्पको समयमा १७ अर्बको दाबी परेको थियो । गत सालको असोजमा काठमाडौं लगायत काभ्रेको रोसीको बाढीका कारण करिव १३ अर्बको दाबी परेको उनले बताए ।

‘अहिलेको क्षति हेर्दा यो भन्दा ठूलो दावी आउँछ भन्ने लागेको थियो । नेपालका बीमा कम्पनीले भूकम्प तथा बाढिपहिरोका भुक्तानी गरेको अवस्था छ । धेरै बीमा भइदिएको भए हामीले उहाँहरूलाई चाँडैनै रिकभरिका लागि सहयोग गर्थ्यौं,’ वैद्यवारले सुनाए । १ हजार ७ सय दाबी साना प्रकृतिका छन् । यी ४०–५० लाखदेखि २ करोडसम्मका होलान् । अरु ठूलो प्रकृतिका रहेको उनले बताए ।

‘साना दाबी हामी दिपावलीसम्ममा भुक्तानी गर्छौैं । हामी सरल ढंगले दाबी भुक्तानी गर्छौ । हामीले यसको ड्राफ्‌ट प्राधिकरणमा पठाइसकेका छौं । गाडी जलेको हकमा ड्राइभिङ लाइसेन्स, विलबुक र प्रहरीले जलेको लेटर दिएको हुनुपर्छ । ठूला प्रकृतिका भुक्तानीलाई हामीले एडभान्स दिन्छौं,’ उनले भने ।

‘बीमा कम्पनीसँग २८ अर्ब रिजर्भ छ’

बीमा कम्पनीले २२ अर्ब भनेको स्पेसल रिजर्भमार्फत कभर गर्ने वैद्यवारले जानकारी दिए । ‘यो रिजर्भमा हाम्रो २७–२८ अर्ब छ, त्यसमा आत्तिनुपर्ने अवस्था छैन । हाम्रो पछाडी रिइन्योेस्योरेन्सको साथ छ,’ वैद्यवारले भने ।

Health Tips Ad Road Block