काठमाडौँ । प्रेस काउन्सिलले नेपालले सोमबार ५६ औँ वार्षिकोत्सव मनाएको छ । पछिल्लो समय देशमा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै यसवर्षका अन्य कार्यक्रम स्थगन गर्दै काउन्सिलले सरल तरिकाले वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो । सो अवसरमा काउन्सिलको ५० औँ वार्षिक प्रतिवेदन र अङ्ग्रेजी प्रकाशन मिडिया जर्नल सार्वजनिक गरियो ।
वार्षिकोत्सवका अवसरमा हुँदै आएका विशेष कार्यक्रम र पुरस्कार प्रदान हाललाई नगरिएको मुख्य अधिकृत झबिन्द्र भुसालले जानकारी दिएका छन् । अघिल्ला वर्षहरूमा काउन्सिलले राष्ट्रपति कार्यालयमा भव्य समारोह गरी वार्षिकोत्सव एवं पुरस्कार वितरण गर्दै आएको थियो ।
काउन्सिलको वार्षिक प्रगतिको सङ्क्षिप्त विवरण प्रस्तुत गर्दै मुख्य अधिकृत भुसालले काउन्सिलले हालैको जेन्जी आन्दोलनका कारण सञ्चार माध्यम र पत्रकारमा परेको प्रभाव, पत्रकार र मिडियामाथि पटकपटक हुने आक्रमण लगायतका विषयमा विशेष अध्ययन अनुगमन गर्ने योजना प्रस्तुत गरे । उनले काउन्सिलका पूर्वाधार, विद्यमान प्रणालीहरूमा सुधार गरेर डिजिटल काउन्सिल बनाउने, काउन्सिल ऐन, सम्बद्ध नियम, विनियम, कार्यविधि निर्देशिका, आचारसंहिता संशोधन, परिमार्जन तथा सङ्घीय संरचनाअनुसार स्थानीय तहसम्म सञ्चार माध्यम, पत्रकारको अध्ययन अनुगमन कार्य अबको कार्यभार रहेको उल्लेख गरे ।
कार्यक्रममा काउन्सिलका सदस्यहरू शन्तराम बिडारी, नकुल अर्याल, निमा काफ्ले, केशवशरण लामिछाने, पदम राज जोशी, बालकृष्ण अधिकारी, विजयराज अधिकारी, नेपाल पत्रकार महासङ्घकी उपाध्यक्ष नितु पण्डित, कोषाध्यक्ष रामकृष्ण अधिकारी लगायत काउन्सिल कर्मचारीहरूको सहभागिता रहेको थियो ।






















