काठमाडौं । दशैं, तिहार, छठ लगायतका चाडपर्वमा नागढुंगा सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा ल्याइने निर्णय सरकारले गरेको छ । चाडपर्वमा विभिन्न सडक तथा राजमार्गमा निर्वाधरुपले सवारीसाधन चलाउने वातावरण बनाउने लगायतका निर्णय गरिएको हाे ।
ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक डा. विजय जैशी, यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलसहित नेपाल प्रहरी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधिकारीसहितको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री घिसिङले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन तथा देशभरिकै सडक तथा राजमार्गमा सहज किसिमले सवारीसाधन सञ्चालन गर्न सकिने गरी आवश्यक तयारी पूरा गर्न मन्त्रालयका सचिव तथा सडक विभागका महानिर्देशकलाई निर्देशन दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले दशैं, तिहार र छठलगायतका पर्वमा आमनागरिकलाई गन्तव्यमा पुग्न सडकका कारण कुन कठिनाइ नहोस् भन्ने उद्देश्यले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग अस्थायी रूपमा सञ्चालनमा ल्याउनेलगायत सडक सुरक्षाको विषयमा विभिन्न सात वटा निर्णय गरिएको जानकारी दिएका छन् ।
मन्त्रालयका अनुसार भएका ७ वटा निर्णयहरु यस्ता छन्ः–
निर्णय नं. १ नागढुंगा–सिस्नेरी–सुरुङ्गमार्ग सम्बन्धमाः
काठमाडौं उपत्यकाबाट बाहिर जाने सवारी साधनहरुमध्ये यात्रुबाहक सार्वजनिक सवारी साधनहरु सो सुरुङ्गमार्गबाट बाहिर जाने र दशैंपछि माथि उल्लिखित सवारी साधनहरु प्रवेश गर्न गराउने व्यवस्थाका लागि सम्बन्धित पक्षसँग छलफल गर्ने।
निर्णय नं. २ सुरक्षा व्यवस्थापन सम्बन्धमाः
काठमाडौं उपत्यकाको नयाँ बसपार्क तथा मुलुकका विभिन्न राजमार्गहरुमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन प्रहरी गस्ती तथा प्रहरी संख्या थप गर्न गराउन नेपाल प्रहरीलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने।
निर्णय नं. ३ मालबाहक ठुला सवारी साधनहरु साञ्चालन सम्बन्धमाः
राजमार्गहरुको कमजोर अवस्था तथा यात्रुबाहक सवारी साधनहरुको आवागमनलाई प्राथमिकता दिनु पर्ने भएकाले बुटवल(नारायणघाट सडकको दाउन्ने खण्डमादशैं अवधिभर लागु हुने गरी ठुला भारबाहन सवारी साधनहरु (१२ चक्के र सोभन्दा माथि) सञ्चालन नगर्न नगराउन अनुरोध गर्ने तथा खाध्यान्न लगायतका अत्यावश्यक सामाग्रीहरु ढुवानी गर्ने सवारी साधनहरुलाई निरन्तर आवागमन हुनेव्यवस्था गर्ने गराउने।
निर्णय नं. ४ सडक स्तरोन्नति तथा सुधार सम्बन्धमाः
मुलुकभरीका मुख्य सडकहरुलाई चुस्त दुरुस्त राख्न, सुधार गर्न गराउन, पहिरोजन्य विपदहरुको व्यवस्थापन गर्न आवश्यक समाग्री तथा यन्त्रहरुको व्यवस्थापन गर्न, बुटवल–नारायाणगढ सडकको दाउने खण्डमा २४ सै घण्टा दुई तर्फी यातायात सञ्चालन गर्न, नारायणगढ मुग्लिन सडक खण्डको तुइन खोलामा भएको अवरोध (पहिरो) हटाई तत्काल यातायात संचालनमा ल्याउने र तातोपानी नाकालाई जोड्ने मुख्य सडक दशैं अगाडि नै सञ्चालनमा ल्याउने गरी आवश्यक कार्य गर्न गराउन सडक विभागलाई निर्देशन दिने।
निर्णय नं. ५
आम नागरिकहरुलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न हुन अनुरोध गर्दै सार्वजनिक सूचना जारी गर्ने।
निर्णय नं. ६ कार्यविधि र निर्देशिका सम्बन्धमाः
सार्वजनिक सवारी साधनहरुलाई सुरक्षित तथा प्रविधिमैत्री बनाउने सम्बन्धमा कार्यविधि र निर्देशिका यातायात व्यवस्था विभागले तयार गरी यथाशीघ्र मन्त्रालयमा पेश गर्न निर्देशन दिने।
निर्णय नं. ७ कन्ट्रोल रुम सम्बन्धमाः
मुलुकभरीको सडकहरुको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न गराउन २४ घण्टा नै सञ्चालन हुने गरी फोकल पर्सन समेतको व्यवस्थापन गर्न गराउन सडक विभागलाई निर्देशन दिने।




















