skip this News Page Tips Ad Road Block

नेपाल स्कुल स्पोर्ट्स फेडेरेसन र ब्रिज इन्टरनेशनल सहकार्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल स्कुल स्पोर्ट्स फेडेरेसन (एनएसएसएफ) र ब्रिज इन्टरनेशनल कन्सल्टेन्सी एन्ड माइग्रेसन प्रालि (बिआइसिएम) बीच विद्यालय खेलकुद तथा उच्च शिक्षाको प्रवर्द्धनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा कार्यक्रम आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै खेल विकाससँगै विश्वविद्यालयमा छात्रवृत्तिका लागि सहकार्य गरेका हुन् । उक्त समझदारीपत्रमा नेपाल स्कुल स्पोर्ट्स फेडेरेसनका तर्फबाट महासचिव राजकुमार कार्की र ब्रिज इन्टरनेशनल कन्सल्टेन्सी एन्ड माइग्रेसन प्रालिका तर्फबाट निर्देशक भुवन गिरीले प्रतिनिधित्व गरेका छन् ।

सोही कार्यक्रममा ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीका निर्देशक भुवन गिरीलाई एनएसएसएफ इन्टरनेसनल डेभलपमेन्ट कमिटी युकेको अध्यक्षमा मनोनयन गरिएको छ । समझदारीपत्रअनुसार विद्यालय खेलकुदको विकास, खेलकुदसँग सम्बन्धित शैक्षिक कार्यक्रमको प्रवर्द्धन, छात्रवृत्ति अवसर विस्तार तथा अन्तर्राष्ट्रिय शैक्षिक अवसरमा पहुँच अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ।

दुवै संस्थाले विद्यालय तहको खेलकुदलाई थप व्यवस्थित, प्रतिस्पर्धात्मक र प्रभावकारी बनाउने लक्ष्यसहित सहकार्य गर्ने जनाएका छन् । सम्झौताअन्तर्गत एनएसएसएफले सिफारिस गरेका दुई जना विद्यार्थीलाई ब्रिजले त्रिभुवन विश्वविद्यालयमा खेल विज्ञान (स्पोर्ट्स साइन्स) विषयमा स्नातकोत्तर तह अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउनेछ। छात्रवृत्ति एक जना छात्र र एक जना छात्राका लागि हुनेछ। प्रत्येक विद्यार्थीलाई चार सेमेस्टर अवधिका लागि करिब २ लाख ३८ हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिने उल्लेख गरिएको छ।

त्यसैगरी, एनएसएसएफले योग्य तथा जेहननदार विद्यार्थीको छनोट र सिफारिस गर्ने जिम्मेवारी वहन गर्नेछ। छात्रवृत्ति वितरण सम्बन्धित शैक्षिक संस्थाको नियम तथा नीतिअनुसार सञ्चालन गरिने जनाइएको छ।

सम्झौतामा प्रायोजन तथा खेलकुद कार्यक्रम सञ्चालनसम्बन्धी सहकार्यलाई पनि विशेष प्राथमिकता दिइएको छ। ब्रिजले एनएसएसएफद्वारा आयोजना गरिने वार्षिक एक खेलकुद प्रतियोगितामा शीर्ष प्रायोजक (टाइटल स्पोन्सर) को भूमिका निर्वाह गर्ने सहमति जनाएको छ। साथै जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका अन्तरविद्यालय खेलकुद प्रतियोगिता तथा कार्यक्रमहरू संयुक्त रूपमा आयोजना गर्ने समझदारी भएको छ। गेम्स, कप, कम्ब्याट गेम्स तथा स्कुल प्रिमियर लिग (एसपीएल) जस्ता प्रतियोगिताहरू सञ्चालनमा सहकार्य गरिने उल्लेख छ।

ब्रिजले खेल सामग्री, खेल पोसाक तथा विभिन्न शैक्षिक र खेलकुद कार्यक्रमका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन पनि सहमति जनाएको छ।

यस समझदारीलाई विद्यालय खेलकुद र खेल शिक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। सम्झौताले प्रतिभाशाली विद्यार्थी खेलाडीलाई उच्च शिक्षामा पहुँच बढाउनुका साथै नेपालमा विद्यालय खेलकुदको दिगो विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। सो अवसरमा कार्कीले विद्यार्थीहरूलाई स्वदेशमै पढ्ने वातावरण सिर्जना गर्नका लागि पनि ब्रिजले सहयोग सहयोग गर्नु सराहनीय उदाहरण भएको बताए । ब्रिजका निर्देशक गिरीले भने नेपाली खेलकुद विकासका लागि यसअघि पनि काम गर्दै आएको बताएका छन् ।

Health Tips Ad Road Block