skip this News Page Tips Ad Road Block

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजना मस्यौदा पारितः “समुन्नत सुन्दर सुदूरपश्चिम” निर्माण गर्ने दीर्घकालीन सोच

Citizenlife ad 2082 falgun to baishak 2083

कैलाली । सुदूरपश्चिम प्रदेश विकास परिषद्को चौथो बैठकले आर्थिक वर्ष २०८३/८४ देखि २०८७/८८ सम्मका लागि तयार गरिएको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित गरेको छ। परिषद्क अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको पछिल्लो बैठकले योजनाको मस्यौदा पारित गरेको हो । परिषद्को बैठकले पारित गरेसँगै मस्यौदा मन्त्रीपरिषदमा पेश गरिने छ ।

प्रदेश नीति तथा योजना आयोगद्वारा तयार गरिएको उक्त योजना विभिन्न आधारहरूमा टेकेर निर्माण गरिएको हो। योजनाको तयारीमा पहिलो पञ्चवर्षीय योजनाको समीक्षा, नेपाल सरकारको सोह्रौँ योजना, संविधान, ऐन–नियम, आर्थिक सर्वेक्षण, तथा विभिन्न सरोकारवालासँगको व्यापक छलफललाई समेटिएको छ।

योजनाले “समुन्नत सुन्दर सुदूरपश्चिम” लाई दीर्घकालीन सोचका रूपमा अघि सारेको छ, भने प्रदेशवासीको गुणस्तरीय जीवन सुनिश्चित गर्नु मुख्य लक्ष्य राखिएको छ। उत्पादन र उत्पादकत्व वृद्धि, गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, पूर्वाधार विकास, स्वास्थ्य तथा शिक्षा सुधार, वातावरण संरक्षण र सुशासन प्रवर्द्धनलाई योजनाले प्रमुख उद्देश्यका रूपमा समेटेको छ।
यस योजनाअन्तर्गत कृषि, पर्यटन, उद्योग र सेवा क्षेत्रलाई प्राथमिकतामा राख्दै आर्थिक वृद्धि हासिल गर्ने, यातायात, ऊर्जा, खानेपानी र डिजिटल पूर्वाधार विकास गर्ने तथा सामाजिक क्षेत्रमा समान पहुँच सुनिश्चित गर्ने रणनीति अघि सारिएको छ।

साथै, जलवायु परिवर्तन अनुकूलन, जैविक विविधता संरक्षण तथा विपद् जोखिम न्यूनीकरणलाई समेत उच्च प्राथमिकता दिइएको छ। शिक्षा क्षेत्रमा गुणस्तरीय, समावेशी र रोजगारमुखी उच्च शिक्षाको विकास गर्ने लक्ष्य लिइएको छ। छात्रवृत्ति कार्यक्रम, डिजिटल शिक्षण प्रणाली, अनुसन्धान प्रवर्द्धन तथा सीप विकासमा जोड दिइने योजना रहेको छ। प्रदेश सरकारले यस योजनालाई दिगो विकास, सुशासन, डिजिटल रूपान्तरण र समावेशी आर्थिक विकासतर्फको महत्वपूर्ण मार्गनिर्देशक दस्तावेजका रूपमा लिएको छ।

दोस्रो पञ्चवर्षीय योजना प्रदेशको समग्र विकासको मार्गचित्रः मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दोस्रो पञ्चवर्षीय योजनालाई प्रदेशको समग्र विकासको मार्गचित्रका रूपमा प्रस्तुत गरेका छन् । उनले योजना “समुन्नत सुन्दर सुदूरपश्चिम” निर्माण गर्ने लक्ष्यसहित दिगो, समावेशी र सन्तुलित विकासमा केन्द्रित रहेको बताए । प्राकृतिक स्रोत र सम्भावनाले समृद्ध भए पनि प्रदेश गरिबी, बेरोजगारी, भौगोलिक विकटता र पूर्वाधार लगायतका समस्या समाधान गर्न योजना तयार गरिएको उनले स्पष्ट पारे ।

मुख्यमन्त्री शाहका अनुसार पहिलो पञ्चवर्षीय योजनाबाट प्राप्त सिकाइका आधारमा ‘आत्मनिर्भर समुन्नत सुदूरपश्चिम’ को दीर्घकालीन सोचसहित प्रदेशवासीको गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य राखिएको छ। योजनामा लगानी प्रवर्द्धन, उद्यमशीलता विकासमार्फत रोजगारी सिर्जना, दिगो आर्थिक वृद्धि, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा पहुँच विस्तार, जैविक विविधता संरक्षण तथा सूचना प्रविधिमा आधारित पारदर्शी सेवा प्रवाहलाई प्राथमिकता दिइएको छ।

उनले कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका क्षेत्रमा लक्षित कार्यक्रममार्फत उत्पादन, रोजगारी र आयआर्जन वृद्धि हुने विश्वास व्यक्त गरे । साथै सेवा प्रवाहमा सुधार, प्रविधिको प्रयोग, पारदर्शिता र उत्तरदायित्वमार्फत सुशासन सुनिश्चित गरिने उनले प्रतिबद्धता जनाए ।

Health Tips Ad Road Block