काठमाडौं । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले असोज ९ गते बिहीबारदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ । निगमले ग्वाञ्जाओ उडानका लागि अनुमति पाइसकेको र यसका लागि सबै प्राबिधिक तयारी पूरा गरिसकेको निगमले जनाएको छ । यससँगै निगमले हरेक हप्ता तीनवटा नियमित उडान भर्ने तालिका तयार गरेको छ ।
पहिलो उडान असोज ९ गते, दोस्रो असोज १२ गते, असोज ३०, कात्तिक २ र ६ गते उडान भर्ने तय भएको छ । त्यसपश्चात प्रत्येक आइतबार, मंगलबार र शनिबार ग्वाञ्जाओतर्फ सिधा उडान हुने निगमको भनाइ छ । काठमाडौंबाट ग्वाञ्जाओसम्मको एकतर्फी भाडादर ३० हजार र दोहोरो टिकट ५० हजार रुपैयाँ तोकिएको निगमले जनाएको छ ।
निगमले निकट भविष्यमै काठमाडौंबाट दक्षिण कोरिया र अष्ट्रेलियातर्फ पनि सिधा उडान सुरु गर्ने तयारी गरिरहेको जनाएको छ ।






















