काठमाडौं । जेनजी को प्रदर्शन एवं आन्दोलनपछि देशमा नसोचेको सत्ता उलटपुलट भयो । बहुमतको भनिएको नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको सरकार एक दिनमै सडकमा आइपुग्यो । कतिपय नेताहरु अझै पनि सार्वजनिक मञ्चहरुमा उपस्थित हुन सकिरहेका छैनन् । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भएको छ । नयाँ सरकारले नयाँ निर्वाचनको मितिसमेत घोषणा गरिसकेको छ । यस्तो अवस्थामा नेपालका राजनीतिक पार्टीहरुको विगत र अब चाल्नुपर्ने कदमका विषयमा अर्थ प्रणाली डट कमले व्यवसायी, समाजसेवी एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सानुकाजी खड्गीसँग कुराकानी गरेको छ । प्रस्तुत छ खड्गीसँगको कुराकानीको सम्पादित अंशः
पछिल्लो घटनाक्रमसँगै अब राजनीतिक दलहरू कसरी अगाडि बढ्नुपर्छ ?
सबैभन्दा मुख्य कुरा नेताहरू सुध्रिनु धेरै जरुरी छ । विशेषतः आफ्नो दम्ब छोडेर देश विकासको कार्यमा अगाडि बढ्न सकेनन् भने गाह्रो हुनेछ । नेताहरुले यो–यो गल्ती मेरो छ भनेर स्वीकारेर सुधारिएर गए भने बल्ल देश पनि बन्दछ ।
पछिल्लो समय जनता किन निराश हुन बाध्य भए ?
नेताहरूले विभिन्न किसिमका मानिसहरूलाई सल्लाहकार राख्ने काम यो बीचमा भयो । ती नेताहरुका सल्लाहकार ठीक नहुँदा आज सबै बिग्रिएको छ । जे गरे पनि हुन्छ भन्ने धारणा र आफू उभिएको जगको आधार नहेर्ने मन्त्री वा नेताहरुका कारण बिग्रिएको हो । अर्काे मन्त्री भएपछि शक्ति र पहुँचको दम्ब राख्ने कारणले नेताहरूलाई विश्वास गर्ने वातावरण नै हराएर गएको र नागरिकहरु निराश हुन बाध्य भएका हुन् ।
अब के दल र नेताहरू माथि उठ्न सक्लान् ?
नेपालमा गर्ने भनेको दलले नै हो । बाँकी अरुले गर्न सक्दैनन् । तर नेताहरु सुध्रिनुपर्ने खाँचो छ । पछिल्लो समय जेन्जीका नाममा ठूलो क्षति भयो तापनि त्यहाँ भिजन देखिएन । त्यसकारण गर्ने दलहरुले नै हो । दल बिना त केही पनि गर्न सकिँदैन । दलमा पनि आफ्नो नेताहरुलाई सुध्रिर्ने मौका कार्यकर्ताले दिनुपर्दछ । वास्तविक धरातलमा टेकेर यो कार्य हुनुुपर्दछ भन्ने सुझाव कार्यकर्ताहरूले दिनुपर्दछ । सही काम गर्नेलाई मान्नुपर्दछ र गलत गर्नेलाई बहिष्कार गर्ने आँट अब सबैतिर हुनुपर्दछ ।
यी अहिलेका दलका शीर्ष नेताहरू अब हुनुहुन्न, उनीहरुको विकल्पमा अरुले नै नेतृत्व लिनुपर्छ भनेर जबरजस्त माग आइरहेको छ नि, यो के हो ?
नयाँ आएको भन्ने जेन्जीको खास एजेन्डा नै भएन । उनीहरू होहल्लामै देखिए । त्यसमा पनि यो दल वा त्यो दल नभनिकन सबै मानिसहरू त्यहाँ प्रवेश गरे । अर्काे यो अन्दोलनमा रिसिइबी साँधेर छानी छानी व्यक्तिका घर बिगार्ने ? तोडफोड गर्ने ? काम भए । अब यो या त्यो भन्नुभन्दा पनि वास्तविकरुपमा सबै सुध्रिनु जरुरी छ ।
तपाईँ माओवादीको नेता हुनुहुन्छ अब माओवादी पार्टी चाहीँ कसरी अगाडि जानुपर्दछ ?
भएका गल्तीलाई स्वीकारेर अब यस्ता गल्ती दोहोर्याउनु हुन्न भन्ने भयो भने पार्टीसँगै बल्ल देश पनि सुध्रिन्छ ।
दलहरूलाई अहिले जनताले पत्याइरहेका छैनन् अब पत्याउने बनाउने कसरी ?
त्यसका लागि विकास गर्नका लागि नेताहरु आफू फिल्डमा नै खट्नुपर्दछ । नेताहरुले लिने गरेका विभिन्न किसिमका सेवा, सुविधा छोड्नुपर्दछ । काम गरेर देखाउनुपर्दछ । त्यसो भएमा जनताले पत्याउने अवस्था रहन्छ । अनि देश पनि बन्दछ ।
तपाईँले अहिले नेताहरूलाई के सुझाव दिनुभएको छ ?
गल्ती गर्ने जो कोहीलाई छोड्नु हुँदैन भन्ने मेरो मान्यता हो । देश बनाउनका लागि सबैले आफ्नो सेवा शुल्क छोडेर र त्याग गरेर जानुपर्दछ । सबैभन्दा ठूलो देश रहेछ भनेर सोही हिसाबले काम गर्नुपर्दछ । आसोपासे, आफन्त, नातेदार, नजिकका मान्छे मात्रै भनेर कोही पनि बस्नु हुँदैन । आखिर जसले जतिसुकै कमाए पनि ‘जाने घाटै हो, खाने दाल भातै हो ।’ भनेर बुझ्नुपर्दछ । नेताहरु जबसम्म ऐस, आराममा बसिरहन्छन् तबसम्म सुध्रिँदैन । यस्ता विषय छोड्नुपर्दछ । यो मुख्य सुझाव रहन्छ ।
आफ्नै मनबाट भन्नुपर्दा देशमा के–के सुधार चाहिएला ?
यस विषयमा म आफू विज्ञ नभएपनि देश विकासको लागि र देश बनाउनुपर्छ भनेर धेरै अगाडिदेखि उत्पादनमूलक क्षेत्रमा केही गर्नुपर्दछ भन्ने मान्यता बोकेर हिँडेको हुँ म । जबसम्म उत्पादनमूलक क्षेत्रमा केही गर्न सकिँदैन भाषण गरेर मात्रै देश बन्दैन । आज त्यही कारण देश छोडेर धेरै मानिसहरू देशबाहिर गएका हुन् । स्पष्ट आर्थिक योजना र प्रणाली अनुसार नचलेको हुनाले देश बिग्रिएको हो । सिस्टम(प्रणाली)ले चलाउने हो भने, रकम रिजर्भ गर्ने अवस्था हट्ने र ऐस आराम छोडेमात्र देश बन्दछ । नेताहरूलाई सुध्रिने मौका भने दिनुपर्दछ । अहिले पनि सुध्रेनन् भने उनीहरु पनि सकिनेछन् ।
नेकपा माओवादी केन्द्रको उत्पादन विभागमा तपाईँ हुनुहुन्छ, माओवादीले कस्ता अवधारणा अगाडि बढाएको छ ?
माथि नै भनिसकें म पहिलेदेखि नै उत्पादन क्षेत्रमा केही गर्नुपर्दछ भनेर दुःखै गरेर आएको मान्छे हुँ । अहिलेसम्म पनि उत्पादनमै लाग्नुपर्दछ भनेर दुःख गरिरहेको छु । व्यक्तिगत भन्दा पनि सामूहिकतामा केही गर्नुपर्दछ भनेर उत्पादनमा लागिरहेका छौं । त्यसकारण उत्पादनमा जोडेर सबै विषयलाई सिस्टममा ढालियो भने देश आफैं बन्दछ । यतातर्फ हामी केन्द्रीत छौं ।
नेपालमा उत्पादनमा के–के सम्भावना देखि रहेछ ?
हामी जलस्रोतको धनी छौं । हाम्रो देशबाट पानी निर्यात गर्न सकिन्छ । त्यही जलस्रोतमा आधारित भएर बिजुली उत्पादन गरी देशभित्रै खपत र विदेशसम्म निर्यात गर्न सक्ने हिसाबले जान सकिन्छ । विभिन्न समयमा राजनीतिक कारणले देश बिग्रियो । हामी १८ घण्टासम्मको लोडसेडिङ बेहोर्न पनि बाध्य भयौँ । अब भने बिजुली बत्ती बेचेरै पनि हामी धनी हुन सक्छौँ । अर्को नेपाललाई कृषिप्रधान देश भनिन्छ । विदेशबाट आयातित चामल खाइरहनु परेको छ । गलत यहाँनिर छ । यसमा नेताहरुले ध्यान दिन सकेनन् । नेताको पछि जोजो लाग्यो त्यसलाई कृषिमा अनुदान पाउने अवस्था गलत छ । अब राज्यले जो सही सलामत हिसाबले कृषि कर्म गर्दछन् त्यस्ता किसानहरुलाई प्राथमिकता दिन नसकेसम्म देश बन्दैन । त्यस्तै पर्यटनमा उत्कृष्ट सम्भावना छ । होटल, व्यवसाय लगायत राम्रो हुनुपर्दछ । मुख्यतः कृषि, पर्यटन र जलस्रोत तीनवटा आधारमा रहेर देशको उत्थान गर्न सकियो र सिस्टम(प्रणाली)ले चल्न सकियो भने देश आफैंं बन्दछ ।
हामी सिस्टममा नै जानुपर्दछ नेतालाई एउटा नियम अरुलाई अर्को नियम भन्ने हुनुभएन भन्ने हो त्यसाेभए ?
सबैलाई एउटै नियम, कानुन हुनुपर्दछ । जुनसुकै नेता होस् वा नागरिक नियमले सबैलाई उत्तिकै व्यवहार गर्दछ । नेताले ऐस, आराम छोडेर फिल्डमा नखटेसम्म हुँदैन । चुनाव आउँछ चुनावमा जसरी पनि जित्ने अनि ठेकदार बनेर जाने स्थिति नत्यागेसम्म देश बन्दैन । सत्तामा पुगेपछि म सेवा गर्न जान्छु भनेर जबसम्म हुँदैन तबसम्म यो देश बन्दैन ।
राजनीति गर्नेहरूले आफूलाई पेशा गरेको ठान्ने अवस्था छ, यो के हो ?
यही कारणले नै देश बिग्रिएको हो । राजनीति गर्छु भनेर कोही मानिस जान्छ भने उनीहरुले आफ्नो मान्छे जहाँ–जहाँ छन् तीनीहरुको मात्रै संरक्षण गर्ने काम गरे । नेताका सल्लाहकारले नै यो देश बिगारे । नेताहरूलाई बिगारे । देश चलाउने नेताहरुलाई राम्रो सुझाव दिन सकेनन् । त्यसकारण उत्पादनशील क्षेत्रमा केही काम गर्नै सकेनन् । कृषिप्रधान देशमा विदेशबाट ल्याएर खाइरहने अवस्था बन्यो । त्यसैले जबसम्म उत्पादनमा जोड दिन सकिँदैन र किसानहरूलाई प्राथमिकतामा राख्न सकिँदैन तबसम्म देश बन्न गाह्रो हुन्छ ।
सन्देश के हो ?
अन्तिममा दोहोर्याएर फेरि भन्छु–जबसम्म नेता सुध्रिदैनन् तबसम्म देश बन्दैन । सिस्टममा देशलाई ढाल्नुपर्यो । जुनसुकै दलको भएपनि गल्ती गर्नेलाई दण्ड सजाय दिनुपर्दछ । त्यती नभएसम्म गाह्रो हुन्छ । आफ्नो मानिसको गल्तीलाई जस्तोसुकै ठूलो भएपनि ढाक्ने तर अरुले गरेको सानो गल्तीलाई ठूलो भनेर देखाउने काम नराम्रो छ । सिस्टममा देशलाई ढाल्न सक्नुपर्दछ र गल्ती गर्नेलाई दण्ड दिनै पर्दछ । राम्रो गर्नेलाई प्रोत्साहन र प्राथमिकता दिनुपर्दछ । सिस्टममा जान सकेनन् भने अहिलेका दलहरू भोलि इतिहासका पानामा मात्रै सीमित बन्नेछन् । आज पैसा कमाउनेले धुन्धानसँग कमायो । गैरकानुनी तवरले धन जम्मा गर्ने सोच मात्रै रह्यो । यस्तो अवस्थाको अन्त्य र प्रणालीमा जान नसक्नासाथ देश बिग्रन्छ । अब देशभरका स्थानीयहरू पनि आ–आफ्नो ठाउँमा रोजगारीमा अब्बल हुनुपर्दछ । नेताहरु आफैं खट्नु पर्दछ । कुरा मात्रै गरेर हुँदैन । आ–आफ्नो क्षेत्रबाट राज्यलाई दिन सक्ने सेवा दिनुपर्दछ । त्यसपछि देश बन्दछ । कार्यकर्ता भएँ भनेर नेताको मात्रै पछि लागिरहने अवस्था अब हुनुहुँदैन । झोला बोक्ने, नेताहरूको चाकरी गर्ने, सांसद, मेयर बन्ने भन्ने जबसम्म रहन्छ तबसम्म सुध्रिने अवस्था देखिँदैन । त्यसले राम्रो गर्दैन । सबै मिलेर अब सबैभन्दा पहिला आफ्नो समाज, टोलको विकास गर्नुपर्दछ । टोलटोलको विकास भयो भने देश आफैं बन्दछ ।





















