skip this News Page Tips Ad Road Block

पोखरामा तरबुजा खेतीबाट कृषकले लिए साढे २ करोड

Citizenlife ad 2082 falgun to baishak 2083

कास्की । पोखरा महानगरपालिका वडा नं.२१ स्थित कृष्ति हिल कृषि तथा पशुपंक्षी फार्ममा बेमौसममा पनि तरबुजा उत्पादन भइहरेको छ । २४ रोपनी क्षेत्रफलमा तरबुजा खेती गरिरहेका कृषक ज्ञान बहादुर कार्कीले अफसिजनमा समेत तरबुजा उत्पादन गरेका हुन् ।

पोखरा महानगर क्षेत्रमा तरबुजा खेती भित्राउने कृषकको पहिचान बनाएका कार्कीको फार्ममा हाल तरबुजा लगायतका तरकारी बालीहरू उत्पादन भइरहेको छ । वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक कृषि खेती सुरु गरेका कार्की कास्कीको एक उदाहरणीय कृषकका रूपमा स्थापित भएका छन् । उनलाई पोखरा महानगरपालिकाले उत्कृष्ट कृषकका रूपमा सम्मान समेत गरेको छ ।

पोखरा महानगर क्षेत्रमा करिब ५ सय रोपनी क्षेत्रफलमा तरबुजा खेती हुने गरेको छ । तरबुजा कृषकहरूलाई महानगरपालिकाले बिउ, मल्चिङ प्लास्टिक, असिना छेक्ने जाली लगायतको सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ । यस वर्ष असिना पानीले क्षति पुर्‍याएका कारण उत्पादनमा ह्रास आएपछि करिब २५० टन तरबुजा उत्पादन भएको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताएका छन् ।

कृषकहरूको प्रोत्साहनसहित बाली बीमा र सुरक्षाका लागि महानगरपालिकाले विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको उनले बताएका छन् ।

यस वर्ष तरबुजा खेतीबाट कृषकहरूले साढे २ करोड बढी आम्दानी गरेका छन् ।

तरबुजालाई स्थानीय उत्पादनका रूपमा प्रवर्द्धन गर्न महानगरपालिकाले तरबुजा मेला सहित सुरक्षित ढुवानीका लागि कृषि एम्बुलेन्स र विक्री वितरण गर्न कृषि बजारको व्यवस्था गर्ने गरेको छ ।

कृषकहरूको उत्पादनलाई बजारको ग्यारेन्टी गर्दै स्थानीय उत्पादनको प्रवर्द्धनमा पोखरा महानगरपालिका प्रतिबद्ध रहेको नगर प्रमुख धनराज आचार्यले बताएका छन् । स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै महानगरको तर्फबाट तरबुजाको न्यूनतम समर्थन मूल्य समेत तोकिएको छ ।

कृषकहरूको उत्पादन बिक्री नभई खेर जाने अवस्था रहेमा महानगरपालिकाले प्रतिकेजी ३५ रुपैयाँका दरले सहयोग प्रदान गर्दै आइरहेको छ ।

Health Tips Ad Road Block