काठमाडौं । काठमाडौंसहित देशका विभिन्न स्थानमा २०२५ सेप्टेम्बर ८ र ९ मा भएको जेनजी पुस्ताको प्रदर्शन र त्यसपछि उत्पन्न भएको असामान्य परिस्थितिप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गम्भीर चिन्ता व्यक्त गरेको छ । प्रदर्शनका क्रममा र त्यसपछि पनि देशैभरि भएका सार्वजनिक सम्पत्तिमाथि आगजनी, तोडफोड, हिंसा र लुटपाटका घटनाले गैरआवासीय नेपाली संघले स्तब्ध भएको जनाएको छ । बालुवाटारस्थित संघको मुख्य सचिवालय एवं संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोको निजी निवासमा भएको आगजनीले थप मर्माहत बनाएको एनआरएनएले जनाएको छ ।
एनआरएनएले भनेको छ, ‘संसारभरिका गैरआवासीय नेपालीको नेपालमा ठूलो लगानी छ। संघले सधैं गैरआवासीय नेपाली र विदेशीहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्दै आएको छ । यस्ता किसिमका घटनाले विदेशमा रहेका नेपाली र विदेशी लगानीकर्तालाई पनि निराश बनाएको छ । प्रदर्शनका क्रममा देशभर ३० युवाको दुःखद निधन र १ हजारभन्दा बढी घाइते भएका समाचारले विश्वभरका नेपाली समुदायलाई मर्माहत बनाएको छ। दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।’
गैरआवासीय नेपाली संघ युवाहरूको चेतनशीलता र देशप्रतिको उत्तरदायित्वबोधलाई सकारात्मक रूपमा ग्रहण गर्ने जनाएको छ । मुलुक सरकारविहीन भएको अहिलेको परिस्थितिलाई यथाशिघ्र अन्त्य गर्दै सार्वभौमसत्ता, राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्यको संरक्षण गर्दै, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक अधिकारहरु हनन नहुने गरी सार्थक र परिणाममुखी संवादमार्फत यथाशीघ्र निकास निकाल्न र युवापुस्ताका माग सम्बोधन गर्न संघ आग्रह गरेको छ ।
एनआरएनएले भनेको छ, ‘संकटको यस घडीमा मुलुकमा स्थायित्व र सामान्य स्थिति कायम गर्न राज्यका सबै निकायको सकारात्मक र सक्रिय भूमिका आवश्यक छ। यो संघ सम्बद्ध सबैलाई यथाशक्य योगदान दिन आग्रह गर्दै आफूले पनि मुलुकको समग्र पुनर्निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछ। यसको साथै संकटको यस घडीमा विश्वभर रहेका सबै गैरआवासीय नेपालीलाई विगतका तिक्तता र आपसी मतभेदलाई छोडेर सहकार्य, एकता र मातृभूमिप्रतिको उत्तरदायित्वबोधसहित एकबद्ध भई अघि बढ्न संघ आह्वान गर्दछ।’
यसै सन्दर्भमा २०२५ को अक्टोबर ११–१४ का लागि तय गरिएको १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन आगामी ६ महिनाभित्र गर्ने गरी स्थगित गरिएको एनआरएनएले जनाएको छ। नयाँ मितिमा हुने बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनमा सहभागी हुन सबै पक्षलाई एनआरएनएले अनुरोध गरेको छ ।





















