ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आज (शुक्रबार) बाट सुरु हुँदै छ । प्रतिनिधि र आयोजक गरी दुई हजार ३४१ जना सहभागी हुने यो महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र प्रतिनिधिलाई स्वागत थालिएको एमालेले जनाएको छ । विधान महाधिवेशनमा २०२६ जना प्रतिनिधि र आयोजकको हैसियतमा थप ३१५ जना गरी कुल २३४१ जना सहभागी हुनेछन् ।
गोदावरीमा हुने महाधिवेशनका लागि सातदोबाटोदेखि गोदावरीसम्मको १० किलोमिटर दूरीभित्र १८ वटा स्वागतद्वार बनाइ, बिजुलीका पोल पोलमा हँसिया हथौडा र सूर्य चिह्न अङ्कित झन्डा राखिएका छन् । सातदोबाटोदेखि गोदावरीसम्म आवतजावतका लागि निःशुल्क गाडीको व्यवस्था गरिएको एमालेले जनाएको छ ।
महाधिवेशनलाई ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नारासाथ भव्य र सभ्य ढङ्गले सम्पन्न गर्न लागिएको एकालेले जनाएको छ । विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव पेस गर्नेछन् । त्यस्तै महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्नेछन् । प्रस्तुत प्रतिवेदनहरु उपर महाधिवेशनमा सहभागी प्रतिनिधिहरुबीच समूहगत छलफल गर्ने व्यवस्था मिलाइएको छ । विधान महाधिवेशनले केन्द्रीय निर्वाचन आयोगको भावी नेतृत्व समेत निर्वाचित गर्नेछ । अन्त्यमा समसामयिक प्रस्तावहरु पारित गर्दै ऐतिहासिक दोस्रो विधान महाधिवेशन समापन गरिने छ ।






















