काठमाडौं । भारत सरकारले नेपालका दुई जलविद्युत आयोजनाबाट उत्पादन भएको ८० मेगावाट विद्युत खरिदका लागि सहमति प्रदान गरेको छ । यस अघि अनुमति प्राप्त १०१०.९ मेगावाट र थपिएको ८० मेवा गरि कुल भारत निर्यात क्षमता १०९०.९ मेगावाट पुगेको छ भने बंगलादेश निर्यातको ४० मेगावाटसहित नेपालको कुल निर्यात स्विकृति ११३०.९ मेगावाट पुगेको नेपाल विद्युत प्रधिकरणले जनाएको छ ।
पछिल्लो पटक साउन २६ गते भारत सरकारले २०० मेगावाटको लागि अनुमति प्रदान गरेकोमा भादौ ५ गते बिहीबार थप ८० मेगावाटका लागि अनुमति प्रदान गरेको हो ।
बाइल्याटरल(द्धिपक्षीय) सम्झौता अन्तर्गत मध्यम अवधिका लागि प्राप्त अनुमति २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्मको लागि हो भने यो अनुमति मेवा खोला ४८.५ मेगावाट र करुवा सेती हाइड्रो पावर ३१.०४ मेगावाटका लागि हो ।






















