काठमाडौं । सरकारले आरोहणका लागि खुला गरिएका ४६१ हिमालमध्ये सुदूरपश्चिम र कर्णाली प्रदेशमा रहेका ९७ हिमाल आरोहणमा प्रोत्साहन गर्ने भएको छ । सगरमाथासहित आठ हजार मिटरभन्दा बढी उचाइका हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर बढाउने तयारी भइरहेका बेला कर्णाली र सुदूरपश्चिममा रहेका हिमाल आरोहणमा आकर्षण बढाउन आगामी दुई वर्ष सलामी दस्तुर नलिने निर्णय गरेर प्रोत्साहनमा लाग्न लागेको हो ।
पर्यटन विभाग महानिर्देशक नारायण रेग्मीका अनुसार हिमाली पर्यटनको थुप्रै सम्भावना रहेको कर्णाली र सुदूरपश्चिममा साहसिक पर्यटन प्रवर्धन गर्न सरकारले त्यहाँका ९७ हिमाल आरोहणमा कुनै शुल्क लिइनेछैन । कर्णाली र सुदूरपश्चिममा ट्रेकिङ र पर्वतारोहणका लागि थुप्रै सम्भावनाका क्षेत्र रहेको बताउँदै उनले आरोहणका लागि शुल्क मिनाहा गरिएका हिमाल प्रवर्धनमा स्थानीय र प्रदेश सरकारले विभिन्न प्रवर्धनका कार्यक्रम अघि बढाउन लागेको बताएका छन् । पर्यटन ऐन, २०३५ को दफा ३६ तथा पर्वतारोहणसम्बन्धी नियमावली–२०५९ को नियम ३२ ले गरेको व्यवस्था अनुसार सरकारले नयाँ हिमाल आरोहणमा प्रोत्साहन गरेको उनको भनाइ छ ।
सुदूरपश्चिमका अपि र सैपालसहित कर्णाली प्रदेशमा रहेका कान्जिरोवा हिमालसहितका हिमालमा अहिलेसम्म कुनै व्यावसायिक आरोहण नभएकाले उक्त हिमालतर्फ आकर्षण बढाउन राजस्व छुट दिइएको विभागको भनाइ छ । कर्णाली प्रदेशमा सैपाल, कान्ति हिमाल, कान्जिरोवा नर्थ, पुथा वेस्ट र सुदूरपश्चिममा अपि, नाम्पा चुली, सैपाल इस्ट, जेठी बहुरानीलगायतका हिमाल आरोहणका लागि बढी चर्चित हिमाल मानिन्छन् ।






















