काठमाडौं । भदौ ३ देखि भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो-२०२५ उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । नाडा अटोमोवाइल्स एशोसिएश नअफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीसँग भेटगरी आगामी भदौ ३ गते देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप परिसरमा आयोजना हुने १७औं संस्करणको नाडा अटो शो–२०२५ को प्रमुख अतिथिको रुपमा उद्घाटन गरी दिन औपचारिक रुपमा आग्रह गरेको हो । उक्त भेटघाटमा अध्यक्ष चौधरीले नाडा स्थापनाको ५० औं वार्षिक उत्सव मनाउने क्रममा रहेको र नाडाले १७ औं संस्करणको नाडा अटो शो–२०२५ आयोजना गर्न लागेको जानकारी दिए ।
सोहीक्रममा अध्यक्ष चौधरीले यस वर्षको अटो शोमा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू, विन्टेज मोटर शो, पहिलोपटक नेपालमा प्रदर्शन हुँदै गरेका यूनिट्री रोबोट्स् र डीप्पल भिटोल यूएभी जस्ता आकर्षक र भविष्यउन्मुख प्रविधिहरू प्रदर्शनीको केन्द्रविन्दु हुने जानकारी दिए ।
भेटघाटमा नाडा प्रतिनिधि मण्डलको सो आग्रहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सहर्ष स्वीकार गरेको नाडा सचिवालयले जनाएको छ । यसबाट अटोमोवाइल व्यवसायीहरुले थप हौसला र प्रेरणा मिलेको महशुस गरेको सचिवालयले जनाएको छ । उक्त भेटभाटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेल समेतको उपस्थिति रहेको थियो ।






















