काठमाडौं । विगतमा कृषि अनुदान दुरुपयोग गरेकाहरुलाई कारवाही गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको कृषि मन्त्री रामनाथ अधिकारीले बताएका छन् । एक अन्तर्वार्ताकाक्रममा मन्त्री अधिकारीले अनुदान दुरुपयोग गरेकाहरुलाई कारवाहीको प्रक्रिया सम्वन्धीत निकायले अन्तिम चरणमा पुर्याएको बताएकाे उनकाे सचिवालयले जानकारी दिएकाे छ ।
उनले भने, “देशभरी विगतमा वितरण गरिएका अनुदानको कसरी प्रयोग भएको थियो भन्ने बारेमा छानविन गरी विवरण संकलन गरिएको छ, अब केही दिनमा कारवाही प्रक्रिया अगाडि बढ्छ । केही दिनमा सार्वजनिक हुन्छ ।”
उनले आगामी दिनमा कृषिको अनुदानको एक हजार रुपैयाँ पनि दुरुपयोग नहुने व्यवस्था आफूले मिलाएको दाबीसमेत गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।
विगतमा करोडौंको अनुदान पहुँचवालाले दुरुपयोग गरेर असली किसानले अनुदान नपाएकोमा अबदेखि खास किसानले अनुदान पाउने र दुरुपयोग गर्नेहरुले नपाउने कडा व्यवस्था गरिएको उनको भनाई छ ।
कृषि मन्त्री अधिकारले अबदेखि कसैले पनि निवेदनका भरमा अनुदान नपाउने ठोकुवा गरेका छन् । उनले भने, ‘विगतमा एउटा निवेदनका भरमा करोडौंका अनुदान लैजाने र दुरुपयोग गर्ने भएको रहेछ, अब पहिले जस्तो हुन दिंदैनौँ, कडा मापदण्ड बनाइएको छ, त्यसका आधारमा मात्रै अनुदान वितरण गरिन्छ।’






















