काठमाडौं । नेपाली कांग्रेसका नेता एवं रसुवाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ईन्जिनियर मोहन आचार्यको पहलमा आज चीनको केरुङमा अलपत्र परेका नेपाली आज स्वदेश फर्कने भएका छन् । रसुवाको ल्हेन्दे खोलामा गत असार २४ गते आएको बाढीले नेपाल–चीन मितेरी पुल बगाउँदा चीनमा अलपत्र परेका नेपालीलाई सांसद आचार्यको पहलमा आज नेपाल ल्याउन लागिएको हो ।
उनीहरुलाई नेपाल फर्काउनका लागि सोमबार रसुवाबाट निर्वाचित सांसद आचार्यले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई भेटेर कुटनीतिक पहल गरिदिन आग्रह गरेका थिए । सोही आग्रहबमोजिम आज त्यहाँ रहेका नेपालीलाई नेपाल फर्काउन लागिएको हो।
नेपाल फर्कनेहरुमा मुख्य त बाढी गएपछि चीनले उद्धार गरेर केरुङ पुर्याएका नेपालीहरु रहेका छन् । उनीहरुलाई रसुवामा पुल नबनेका कारण तातोपानी नाका हुँदै नेपाल ल्याउन लागिएको हो । तातोपानी नाकाबाट नेपाल आउने नेपालीहरुका लागि काठमाडौंसम्मको यातायातको व्यवस्था नेपाल सरकारले गरेको छ भने चिनियाँ भूमीमा चीन सरकारले गरेको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले नेपाल फर्काउन लागिएकोमा सवारी चालक तथा बिरामी परेका, नियमित औषधि सेवन गरिरहेका र औषधि सकिएका गरि २०० भन्दा बढी रहेको जानकारी दिए ।
बाढीका कारण अवरुद्ध भएको स्याप्रुबेसी–रसुवागढी सडक खण्ड सञ्चालनमा आएको भए पनि मितेरी पुल सञ्चालन नआएका कारण तातोपानी नाकाबाट उनीहरूलाई नेपाल फर्काउन लागिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन् ।






















