रसुवा । भोटेकोशी नदीमा मंगलबार बिहान आएको भीषण बाढीले नेपाल–चीन जोड्ने मितेरी पुललगायत धेरै संरचनाहरूमा क्षति पुर्याएको छ । केरुङ र लेन्देखोलामा अचानक आएको बाढीले मितेरी पुल, रसुवागढी जलविद्युत आयोजनाको बाहिरी संरचनामा पूर्ण क्षति पुर्याएको हो । करिब तीन बजे आएको बाढीले रसुवास्थित टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा पनि क्षति पुगेको छ ।
चीनबाट रसुवागढी नाका भई बग्ने भोटेकोशी नदीमा ठूलो मात्रामा बाढी आई नदीको सतह बढ्न गएकाले प्रभावित क्षेत्रमा बसोबास गर्ने सम्पूर्णमा आवश्यक सजगताका लागि जिल्ला प्रशासन कार्यालयले सबैलाई अनुरोध गरेको छ । त्यसैगरी उद्धार कार्यमा स्थानीय प्रशासन तदारुकताका साथ कृयाशील रहेको समेत प्रशासनद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
मौसमविद्हरूले यो वर्ष औसतभन्दा बढी वर्षा हुने चेतावनी दिइरहेको सन्दर्भमा, सरकारले उच्च सतर्कता अपनाउन र विपद् जोखिम न्यूनीकरणका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता रहेको मौसमविदहरुले बताइरहेका छन् ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट ठूलो बाढी प्रवेश गरेको भन्दै सतर्कता अपनाउन अलर्ट जारी गरेको छ ।
यता जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले त्रिशूली नदीको उपल्लो भाग नुवाकोट र रसुवातर्फ अति भारी वर्षा भएका कारण त्रिशूली नदी किनारका दुवैतर्फ पानीको बहाव बढ्न सक्ने भएकाले त्रिशूली नदी किनारका क्षेत्रमा आवश्यक सतर्कता र सावधानी अपनाउन अनुरोध गरेका छन् ।






















