काठमाडौं । नेपाल सरकारका आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडाले कृषि क्षेत्रको विकास र रुपान्तरणका लागि विशिष्टीकृत वित्तीय संस्था आवश्यक रहेको बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २४ औँ स्थापना दिवसका अवसरमा उनले कृषि क्षेत्रको विकास र विस्तारका लागि विशेष कार्य गर्नेगरी विशिष्टीकृत वित्तीय संस्थाको आवश्यकता देखिएको बताएका हुन् ।
उनले साना किसानहरुलाई कृषि, पशुपालन र आयआर्जनका कार्यमा संलग्न गराउन साना किसान विकास लघुवित्त वित्तीय संस्था खेलेको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै लघुवित्तहरु सदस्यहरुलाई उत्पादनमा जोड्नेगरी आफ्ना कार्यक्रम अगाडि बढाउन नसके लामो समयसम्म चल्नन सक्ने तर्क गरे ।
ऋण दिने मात्र नभई सदस्यहरुलाई लगानी गरेको ऋणले आम्दानी दिनेगरी सदस्यहरुलाई तयार गर्न सक्नुपर्ने भन्दै यस कार्यमा साना किसानले नमुनाका रुपमा कार्य गरेको प्रति खुसी व्यक्त गरे ।नेपालमा कृषि र पशुपालनमार्फत गर्न सकिने उद्यम र आयआर्जनका क्षेत्रहरु धेरै रहेको स्मरण गर्दै डा. खतिवडाले एकलभन्दा पनि अब सामूहिक उत्पादन र आम्दानीमा जोडिनुपर्नेमा जोड दिएका छन् । नेपालको राँगा, बंगुर लगायतका मासुजन्य उत्पादनको बजार तेस्रो मुलुकमा भइसकेको भन्दै उनले अब किसानहरुलाई बजारको ग्यारेन्टी गर्दै निरोगी पशुवस्तु उत्पादनमा प्रोत्साहन गर्न सके नेपाली किसानहरुको आयस्तरमा वृद्धि गर्न सकिने धारणा राखेका छन् । डा. खतिवडाले सानाकिसानले अहिले कृषि सहकारी मार्फत सदस्यहरुलाई उत्पादन र बजारीकरणमा जोड्दै गएको प्रति अब उत्पादनको भण्डारण, प्रोसेसिङ, प्याकेजिङ र ब्रण्डीङ गरेर आयस्तर बढाउने कार्यलाई अझै प्रभावकारी बनाउन सुझाव दिएका छन् ।
पछिल्लो समय सहकारी तथा साना बचत समूह सहकारीका सिद्धान्तअनुरुप सञ्चालन नहुँदा बचतकर्ताहरूको रकम हिनामिना हुनेक्रम बढेको भन्दै यो समस्या समाधान हुँदै जाने विश्वास उनले व्यक्त गरे । वित्तीय कारोबारमा अपारदर्शी क्रियाकलाप मौलाउँदै गएपछि नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले २०८१ चैत २१ गतेदेखि लागू हुनेगरी ‘बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड २०८१’ तयार गरी लागू गरिसकेको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष खेमबहादुर पाठकले संस्थागत सुशासन बढाउन नसक्दा सहकारीमा केही समस्या आएको भनाइ राखे । उनले देशव्यापी अभियान चलाई रहेको भन्दै यस क्रममा संस्थाका सञ्चालक र कर्मचारीहरुले आफ्नो जिम्मेवारी भन्दा फरक काम गरेका कारण संस्थाहरुमा समस्या सुरु भएको तर्क गरे । सहकारीले समुदायको हरेक क्षेत्रमा सकारात्मक प्रभाव पार्न सक्ने भन्दै उनले सुधार आफैंबाट गर्नुपर्ने बताए ।
साना किसान विकास लघुवित्तले ७७ जिल्लाका एक हजार ७१० साझेदार संस्थामार्फत २२ लाख परिवारका ८८ लाख सदस्यमा थोक कर्जा विस्तार, क्षमता विकास, प्रविधि हस्तान्तरण युवा उद्यमीका लागि काम गर्दै आएको उनले जानकारी दिए ।
यसैगरी, संस्थाले पिछडिएका डोम, चमार, मुसहर, हरिजन, धोवी, धवाल, चिडिमार, पत्थरकट, पासवान, चेपाङ, बनकरिया, राउटेलगायत जातिलाई संस्थामा आबद्ध गराएको अध्यक्ष पाठकले जानकारी दिए ।
वार्षिकोत्सव समारोहमा संस्थाका प्रमुखकार्यकारी अधिकृत डा.शिवराम प्रसाद कोइरालाले नेतृत्व इमान्दार भएका सहकारी तथा लघुवित्त संस्थामा कार्य गर्न सके कुनै समस्यासँग जुध्न नपर्ने तर्क गरे । उनले तरलताको समस्या नभएको र आफ्ना सदस्यलाई मुनाफा वितरण गर्न सफल भएका उदाहरणबारे चर्चा गर्दै समस्याको समयमा पनि साना किसान कृषि सहकारी संस्थाहरुले हेर्न, सुन्न र सुनाउन लायक कार्य गरेको दाबी गरे ।
नेपालमा २०३२/०३३ सालदेखि साना किसान विकास आयोजना सुरु भएको हो । वि.सं. २०५८ सालदेखि साना किसान विकास लघुवित्त वित्तीय संस्थाका रूपमा रहेको यो संस्था त्यसअघि साना किसान विकास बैंकका रूपमा दर्ता भएको थियो । यस संस्थाको संस्थापक शेयरधनीका रूपमा नेपाल सरकार, कृषि विकास बैंक, नेपाल बैंक, नबिल बैंक लिमिटेड र अन्य बैंक तथा वित्तीय संस्थाका साथै २३१ वटा साना किसान सहकारी संस्थाहरू रहेका छन् ।
संस्थाको चुक्ता पुँजी चार अर्ब ३१ करोड रुपैयाँ रहेको छ । बैंक तथा वित्तीय संस्थाको ३८ दशमलव नौ प्रतिशत, साना किसान सहकारी संस्थाको २७ दशमलव ४५ प्रतिशत, अन्तरराष्ट्रिय वित्तीय संस्थाको दुई दशमलव ३६ प्रतिशत, नागरिकको ३० दशमलव ०६ प्रतिशत र अन्यको एक दशमलव २३ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
यसका साथै यस संस्थामा साना किसान सहकारी ९ सय २, अन्य सहकारी संस्था र लघुवित्त संस्था ८ सय ८ गरी कूल एक हजार ७ सय १० साझेदार संस्था आबद्ध रहेका त्यस अवसरमा जानकारी दिइयो । यस संस्थाको कार्यक्षेत्रमा दलित, जनजाति, पिछडिएका वर्ग र गरिब साना किसान रहेका र यी समूहले संस्थाको आर्थिक सहयोगबाट बाख्रा, बङ्गुर, भैँसी, माछा, कुखुरापालन र तरकारी तथा उच्च मूल्य बालीमा राम्रो उपलब्धि हासिल गरेको संस्थाले जनाएको छ ।
वार्षिकोत्सवका अवसरमा संस्थाले देशभरबाट उत्कृष्ट शाखा कार्यालयका रुपमा शाखा कार्यालय नेपालगञ्ज, राष्ट्रियस्तरमा सर्वोत्कृष्ट साझेदार सांना किसान कृषि सहकारी संस्थाका रुपमा बर्दियाको ताराताल साना किसान कृषि सहकारी संस्था, लघुवित्त वित्तीय संस्थास्तरको उत्कृष्ट व्यावसायक साझेदार संस्था मातृभूमी लघुवित्त वित्तीय संस्था, अन्य सहकारी संस्थाहरुस्तरमा उत्कृष्ट हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लि. झापा र काठमाडौं शाखा कार्यालय काठमाडांै स्तरमा उत्कृष्ट साझेदार संस्थाका रुपमा भगवती कालापानी सानाकिासन कृषि सहकारी संस्था लि. काभ्रेलाई पुरस्कृत गरिएको थियो । साथै संस्थाले संस्थका कार्यालय सहयोगीमध्येबाट ठाकुर श्रेष्ठ र सवारी चालकमध्येबाट गुण बहादुर गिदेललाई पुरस्कृत गरेको थियो ।






















