काठमाडौं । यसवर्ष डेंगीका बिरामी ६० हजार पुग्नसक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को प्रक्षेपण रहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चन्द्रभाल झाले डेंगी रोग नियन्त्रणका लागि सबैभन्दा पहिला नागरिकमा सचेतना आवश्यक रहेको बताएका छन् । महाशाखाले टेकुमा आयोजना गरेको संक्रामक रोगको महामारी व्यवस्थापनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तयारी विषायक कार्यक्रममा निर्देशक झाले नागरिकमा सचेतना हुनसके आफैं बच्ने अवस्था आउने धारणा राखे । त्यसेगरी नागरिक सचेत हुनसके प्रकोप फैलिनबाट रोकथाममा सहयोग पुग्ने उनको दाबी छ । गर्मी र बर्खाको समयमा डेंगीको संक्रमण बढी हुनसक्ने भएकाले यो समयमा बढी सचेत हुनुपर्ने बताए । असार, साउन, भदौ र असोज महिनामा डेंगकिो बढी संक्रमण फैलिएको विगतका वर्षहरुको तथ्यांक रहेको बताउँदै झाले यसको न्यूनिकरणमा सबैको सहयोग जरुरी रहेको बताए ।
निर्देशक झाले जुनकुनै रोगहरुबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बढाउने हिसाबको जीवनशैली अपनाउनुपर्ने धारणा राखेका छन् । रोगका किटाणुहरुले कमजोर तथा रोग प्रतिरोधात्मक क्षमता कम भएको समयमा हमला गर्ने र रोगहरु देखा पर्ने भन्दै यस किसिमको जीवनशैलीमा उनले जोड दिएका छन् । रोगहरु न्यूनिकरणका लागि घर घरका नागरिक सचेत बन्नुपर्ने महाशाखाको भनाइ छ ।
महाशाखाले गत पुसदेखि आजको दिनसम्म १ हजार ६७३ जनामा डेंगी संक्रमण पुष्टी भएको जनाएको छ । महाशाखाले पछिल्लो सात दिनमा ७१ जना र चौबिस घण्टामा ३ जना डेंगी संक्रमण देखिएको भन्दै देशका ७३ जिल्लामा संक्रमण भेटिएको जनाएको छ । कार्यक्रममा किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहाल डेंगीको संक्रमण उच्च विन्दुमा पुग्ने अवस्थाको प्रक्षेपण भएको बताएका थिए । उनका अनुसार यस वर्ष देशभर डेंगी संक्रमणबाट ६० हजार बढी बिरामी हुन सक्नेछन् । यसतर्फ सचेत बन्दै विभिन्न कार्ययोजना र तयराी गरिएको उनको भनाइ छ । सबैको सझा प्रयासले यसलाई नियन्त्रण गर्न लाग्नुपर्ने उनले बताए ।
डेंगी सार्ने लामखुट्टेले पानी जमेको ठाउँमा फुल पार्ने भएकोले यस्ता पानी जम्मा गर्न राखिएका ड्रम र बाल्टीहरू, पुराना टायर र फोहोरमैला, कौसी खेतीका गमला राखिएका स्थानमा विशेष ध्यान दिन र त्यसरी पानी जम्ने स्थिति हुन नदिन महाशाखाले सबैलाई अनुरोध गरेको छ ।
महाशाखाले लामखुट्टेको बासस्थान हुनसक्ने स्थानको पहिचान गरी त्यस्ता स्थानलाई सरसफाई गर्न सबैलाई अनुरोध पनि गरेको छ ।






















