काठमाडौं । कैलालीको धनगढीमा केन्द्रीय कार्यालय रहेको नवजीवन सहकारीले आफ्नै ब्राण्डमा उत्पादन गरेको चामल काठमाडौंमा पनि ल्याएको छ। सहकारीका अध्यक्ष देबहादुर बमका अनुुसार २५ केजीका सय बोरा चामल काठमाडौंमा ल्याएर बिक्री सुरु गरिएको छ। सहकारीले चामल बजारीकरणका लागि शनिबार काठमाडौंमा शेयर सदस्य र सरोकारवालासँग सहकारीको मर्म र चुनौतीबारे छलफल गरी आफ्नो उत्पादनबारे जानकारी दिएको हो।
अध्यक्ष बमका अनुसार कैलालीको गोदावरी नगरपालिका–८ मजगाउँमा रहेको खाद्य उद्योगबाट उत्पादित मोटो र मसिनो चामल बिक्री भइरहेको छ। सहकारीका १० वटै सेवा केन्द्रबाट यसको बिक्री वितरण भइरहेको उनले जानकारी दिए । अब काठमाडौंमा पनि बिक्री थालिएको उनले बताए । ‘काठमाडौंमा बजारको अवस्था हेरेर डिलर र सबडिलरसँग जोड्नेछौँ, उनले भने, ‘आगामी असारभित्र काठमाडौंमा पनि सेवा केन्द्र सञ्चालन हुँदैछ । यसले बजारीकरणमा अझ सहयोग पुग्छ ।’ सहकारीले कैलाली, कञ्चनपुर र बर्दियाका १० ठाउँमा सेवा केन्द्रमार्फत् सहकारी कारोबारसँगै चामल बिक्री गरिरहेको छ।
सहकारीले पहिलो चरणमा १६ हजार २८ क्विन्टल धान खरिद गरेको थियो। हालसम्म कैलाली, कञ्चनपुर र बर्दियामा ६ सय क्विन्टल चामल बिक्री भइसकेको जनाइएको छ। २५ किलोग्राम मोटो चामलको एक हजार ४ सय र मसिनो चामलको २ हजार २ सय मूल्य निर्धारण गरिएको छ। तर,काठमाडौंमा खुद्रा बजारमा भने मोटो चामलको भाउ १७ सय र मसिनो चामलको २५ सय पर्ने अध्यक्ष बमले बताए।

सहकारीले पहिलो वर्ष मोटो र मसिनो मात्र बजारमा ल्याएकामा आगामी वर्षदेखि मसिनो र मोटोको पनि गुणस्तर छुट्याएर बजारमा ल्याउने योजना बनाएको छ।
सहकारीले मजगाउँमा एक करोड दुई लाखको लागतमा पाँच हजार क्वीन्टल क्षमताको गोदाम घर निर्माण गरिसकेको छ भने राइस मिल प्लान्ट र ट्रान्सफर्मर स्थापना भएको छ।
पहिलो चरणमा चामल उत्पादन थालेको सहकारीले तोरीको तेल, मसुरोको दाल, गहुँको आँटा र पिउने पानीसमेत उत्पादन गर्ने योजना बनाएको छ। ‘तोरीको तेल र मसुरोको दाल चाँडै बजारमा आउँछ, त्यसपछि क्रमशः अरु उत्पादन ल्याउने योजना छ,’ अध्यक्ष बमले भने, ‘सहकारीका ३६ हजार २५० शेयर सदस्य छन् । अर्गानिक र गुणस्तरीय खाद्यवस्तु पुर्याउने हाम्रो लक्ष्य हो । खाद्य उत्पादनले किसानसँग जोडिन पनि सहयोग पुग्नेछ।’ उनले ९ प्रतिशत ब्याजदरमा आफूहरुले लगानी गरिरहेको पनि बताए ।
नवजीवन सहकारीका संस्थापक सञ्चालकसमेत रहेका बागमतीका प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सहकारीले आम किसानलाई जोडेर उत्पादनमा लाग्नुपर्ने बताए। ‘नवजीवनले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका लाखौँ नागरिकको आर्थिक जीवनस्तर उकास्न भूमिका खेलेको छ, सहकारीले खाद्य उत्पादन थालेको देख्दा खुसी लाग्यो,’ उनले भने, ‘सहकारीको मर्म अनुसार चलेका सहकारी विचलित भएका छैनन्। केही सहकारीका कारण समग्र सहकारीमाथि हिलो छ्याप्न हुँदैन।’
०५० मा स्थापना भएको नवजीवनका हाल सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशमा १० सेवा केन्द्र छन् । सहकारीमा ३१ करोड ३४ लाख सेयर पूँजी छ भने पाँच अर्ब ७३ लाख ६४ हजार निक्षेप छ ।






















