काठमाडौं । बौद्धिक सम्पत्ति सुरक्षाको लागि नीतिगत सुधार गर्नुपर्ने विषय जाेडका साथ उठेको छ । सरकार एवम् सराेकार निकायले यसबारे विषय उठान गरेका हुन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बौद्धिक सम्पत्ति सुरक्षाको लागि नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका हुन् । विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभाग तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्रतिलिपि अधिकार राजिष्टारको कार्यालयद्धारा आयोजित कार्यक्रममा बौद्धिक सम्पत्ति र मौलिक कला संस्कृतिहरूको संरक्षण गर्नुपर्नेमा उनले जोड दिए । उनले प्रतिलिपि अधिकारको सुरक्षामा सरकारले भूमिका निर्वाह गर्ने बताए ।
बौद्धिक सम्पत्ति संरक्षणका विषयमा जनचेतना अभिवृद्धि गर्नुपर्ने बताउँदै उनले नेपालका मौलिक तथा सांस्कृतिक परम्पराहरूको संरक्षण गर्नुपर्नेमा जोड दिए । देशको गहनाका रूपमा चिनिने नेपाली सर्जकहरूले गरेका सृजनाको चोरी गरी आफ्ना नामबाट प्रकाशन–प्रसारण गर्नेलाई सरकारले कारबाही गर्ने बताए । उनले नेपालका पुराना लोक कला संस्कृति, मौलिक ज्ञान, सङ्गीत कला र सिर्जनाको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीले बौद्धिक सम्पत्ति दुरुपयोगका विषयमा सम्बन्धित व्यक्तिहरू नै अनविज्ञ रहेको हुनु नै समस्याको विषय भएको बताए । उनले यस सम्बन्धीका पुराना कानुनहरू संशोधन गर्नुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले औद्योगिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनुपर्ने बताए ।
बौद्धिक सम्पत्ति सङ्गठनबारे पर्याप्त ज्ञानको अभावले पनि यसको संरक्षणमा चुनौती थपिने गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले कतिपय ट्रेडमार्कका विषयमा विवादहरू आउने गरेकोले यसको समाधानमा जोड दिनु पर्ने बताए । उनले ट्रेडमार्क तथा पेटेन्टका विषयमा पर्ने उजुरी र यसको सुनुवाइको प्रक्रियालाई सरल सहज र छिटो गर्नु पर्ने बताए ।
“नेपालको कानुनले पनि बौद्धिक सम्पत्तिलाई कानुनमा सुरक्षित गरिएको छ । जसले पेटेन्ट, प्रतिलिपि अधिकार र ट्रेडमार्कहरूलाई सुरक्षित राख्न सहयोग गरेको छ । यस्ता कार्यक्रमले बौद्धिक सम्पत्तिका विषयमा जनचेतना अभिवृद्धिमा ठुलो सहयोग पुग्ने छ । ”उनले भने ।
उनले गीत सङ्गीत क्षेत्र मनोरञ्जन उद्योगका रूपमा विकास हुँदै आएको अवस्थामा सर्जकहरूले सिर्जनाको संरक्षण आवश्यक रहेको बताए ।
उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले अर्थतन्त्रको उन्नति र आर्थिक समृद्धिका लागि औद्योगिक सम्पत्ति महत्त्वपूर्ण भए तापनि यो विषय छायाँमा परेको बताए । उनले पुरानो कानुन र सरोकारवालको चेतना न्यून रहेको बताए । विभागले पछिल्लो समयमा एकीकृत दर्ता गर्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याएको र उजुरी फर्छ्यौटमा तीव्रता दिएको महानिर्देशक ज्ञवालीले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले कलात्मक कार्य र सिर्जनाको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । उनले बौद्धिक सम्पत्ति साझा चासोका विषय भएको बताउँदै यसको विषयमा सबैको चासो र सरोकार रहनुपर्ने बताए । हाम्रा परम्परागत संस्कृति, मौलिक ज्ञान, सङ्गीत कला र सिर्जनाको संरक्षण प्रवर्द्धनमार्फत आर्थिक विकास गर्न सकिनेमा जोड दिए ।
विश्व बौद्धिक सम्पत्ति सङ्गठनको अगुवाइमा पहिलो विश्व आइपि दिवस २००१ बाट यो दिवस मनाउन थालिएको थियो । विश्व बौद्धिक सम्पदा सङ्गठनले हरेक वर्ष विभिन्न फरक फरक नारा तय गरेर यो दिवस मनाउँदै आइरहेको सन्दर्भमा यो वर्ष आइपी एण्ड म्युजिक फिल द बिट अफ आइपी नारा तय गरेको छ ।






















