Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

क्यान महासंघको रणनीतिक योजना बैठक सम्पन्न, डिजिटल नेपाल निर्माणका लागि नीतिगत पहलमा जोड दिने 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाललाई ग्लोबल आईटी हब बनाउने लक्ष्यसहित कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को २०२५-२०२७ रणनीतिक योजना बैठक सम्पन्न भएको छ । फागुन १६ र १७ गते मकवानपुरको हेटौंडामा भएको बैठकले नेपालको सूचना प्रविधि क्षेत्रलाई सुदृढ गर्नेगरी दुई वर्षे रोडम्याप तय गरेको छ ।

बैठकले सूचना प्रविधि क्षेत्रमा नीतिगत सुधारको दिशा तय गर्दै विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । यसका साथै संस्थालाई सुदृढ बनाउन विभिन्न कार्यक्रम र पहलहरू सञ्चालन गर्ने योजना बनाइएको छ ।

सो अवसरमा अध्यक्ष सुनैना घिमिरे पाण्डेले नीतिगत क्षेत्रमा सुधार गर्न कार्ययोजना प्रस्तुत गरेकी थिइन्। उनले डिजिटल नेपाल निर्माणका लागि विद्यमान नीतिमा सुधार, प्रविधि विकास, अनुसन्धान प्रवर्द्धन र अन्तर्राष्ट्रिय सहकार्यका माध्यमबाट नेपाललाई ग्लोबल आईटी हब बनाउने लक्ष्य राख्दै विभिन्न क्षेत्रहरूमा कार्य गर्ने योजना राखेकी थिइन्।

यसअन्तर्गत नेपालमा डेटा प्रोटेक्सन ऐन, ई-गभर्नेन्स ब्लुप्रिन्ट, राइड शेयरिङ ऐन, डन एनपी पोलिसी, इन्डस्ट्री ४।०, नेपाललाई उच्च साइबर सुरक्षा खतराबाट मुक्त पार्ने योजना, मेड इन नेपाल सफ्टवेयर र सेवाहरूको प्रवर्द्धन, आईसीटीको मानकीकरण र आईटी बोर्डको स्थापना, श्रम ऐनमा सुधार, आईटी विधेयक पारित गर्ने, ब्रोडब्यान्ड इन्टरनेट कर परिमार्जन लगायतका नीतिगत पहलहरू अगाडि बढाइने अध्यक्ष पाण्डेले उल्लेख गरिन् ।

साथै वैदेशिक लगानी ९एफडीआई०मा पाँच प्रतिशतसम्म शेयर उपलब्ध गराउने, आईटी उद्योगमा कर छुट, स्टार्टअपलाई प्रवर्द्धन गर्ने कार्यक्रम र फिनिसिङ स्कुलमार्फत उद्योगअनुकूल सीप विकास गर्ने कुरामा पनि जोड दिइएको छ ।

त्यस्तै नेपाली आईटी उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन विभिन्न पहलहरू अघि बढाउने, महिला सशक्तिकरणका लागि आईसीटीमार्फत कार्यक्रम संचालन गर्ने र डिजिटल अर्थतन्त्रलाई बढावा दिने उद्देश्य राख्दै ठोस कदम चाल्ने प्रतिबद्धता जनाइएको छ ।

डिजिटल नेपाल निर्माणका लागि सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र अन्तर्राष्ट्रिय निकायहरूसँग सहकार्य गर्दै ठोस परिणाम ल्याउन काम गरिने अध्यक्ष पाण्डेले बताइन् ।

बैठकमा प्रस्तुत योजना र कार्यक्रमलाई आधार मान्दै आगामी दुई वर्षे रणनीति तय गरिएको हो । सो अवसरमा बोल्ने पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले बदलिँदो समय अनुसार क्यानलाई सुदृढीकरण गर्न आफ्ना तर्फबाट सुझाव पेस गरेका थिए ।

क्यान महासंघका निवर्तमान अध्यक्ष रञ्जित कुमार पोदारले प्रविधि क्षेत्रको आर्थिक योगदान बढाउने नीति निर्माणको आवश्यकता औंल्याउँदै डिजिटल साक्षरता, नवप्रवर्तन, नीति सुधार र विश्वव्यापी साझेदारीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएन ।

महासंघका उपाध्यक्ष चिरञ्जीवी अधिकारीले आईटीमैत्री नीति आवश्यक भएकोमा जोड दिँदै स्टार्टअप समिट, इनोभेसन समिट, सफ्टवेयर समिट जस्ता कार्यक्रमको प्रस्ताव राखे । केही समय अघि ‘नेपालमा एआईको प्रयोग र अभ्यास’ शीर्षकको अवधारणापत्र महासंघका एआई संयोजक तथा उपाध्यक्ष चिरञ्जीवी अधिकारीका् नेतृत्वमा समीक्षात्मक अध्ययन तथा सिफारिस तयार गरि सरकारलाई बुझाएको थियो ।

अर्का उपाध्यक्ष सुवास खड्काले आईटी विद्यार्थी, स्नातक तथा विशेषज्ञहरूलाई संलग्न गराई उद्योग–शिक्षा सहकार्यको आवश्यकतामा जोड दिएका थिए ।

उपाध्यक्ष हर्क बहादुर सेटी र शेखरनाथ दुलालले प्रदेश तथा स्थानीय तहमा डिजिटल साक्षरता, साइबर सुरक्षाबारे सचेतना र आईटी परियोजनाका लागि प्रस्ताव लेखनमा ध्यान दिनुपर्ने उल्लेख गरे ।

उपाध्यक्ष सृजना श्रेष्ठले अनुसन्धान, विद्युतीय-फोहोर (ई_वेस्ट) व्यवस्थापन तथा क्यान महासंघको ब्रान्डिङमा विशेष जोड दिएका थिए  । कार्यक्रम सञ्चालन समेत गर्नुभएको क्यानकी सचिव सरिता न्यौपानेले महिलाहरूको प्रविधि क्षेत्रमा अवसर र चुनौतीबारे चर्चा गर्दै आईसीटीमार्फत महिला सशक्तिकरण कार्यक्रम आवश्यक रहेको धारणा राखे।

केन्द्रीय कार्यसमिति सदस्य केशव भट्टराईले रिफर्बिस्ड आईटी सामग्रीको सट्टा गुणस्तरीय उत्पादनलाई प्रवर्द्धन गर्न आवश्यक नीति निर्माणमा जोड दिए । अन्य कार्यसमिति सदस्यहरूले पनि आफ्ना भनाइ राख्दै उत्पादन र प्रविधिमा सुधार ल्याउनका लागि सम्बद्ध नीति र कदमहरूमा ध्यान दिनुपर्ने कुरा राखेका थिए ।

बैठकमा सहभागी कार्यसमितिका पदाधिकारी एवम् सदस्यका लागि क्यान मकवानपुर शाखाले स्वागत तथा रात्रि भोजको आयोजना गरेको थियो ।

क्यान महासंघबारे 

सन् १९९२ मा स्थापना भएको क्यान महासंघ (तत्कालीन क्यान) ले नेपालमा सूचना प्रविधि क्षेत्रका विभिन्न जनशक्ति, विज्ञ, संघरसंस्थाहरू र व्यवसायीहरूको छाता संगठनको रूपमा कार्य गर्दै आएको छ । यस संस्थाले सूचना प्रविधिसम्बन्धी व्यवसायी तथा विज्ञहरूको हकहितको संरक्षण गर्दै सूचना प्रविधिको नीति निर्माण, कार्यान्वयन र सहजीकरणका क्षेत्रमा सरकारलाई आवश्यक सुझाव र सहयोग प्रदान गर्ने गर्छ । क्यानमार्फत सूचना प्रविधिको क्षेत्रलाई सुदृढ पार्न विभिन्न पहल र कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । सन् २०१५ मा क्यानले आफ्नो संरचना र दायरा विस्तार गर्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघको नाममा रुपान्तरित भएको हो । यसपछि यस संस्थाले नेपालका सूचना प्रविधि व्यवसायीहरूको वकालत गर्दै समग्र सूचना प्रविधि क्षेत्रमा व्यापक परिवर्तन र सुधार ल्याउन महत्त्वपूर्ण कदमहरू चालेको छ ।

Health Tips Ad Road Block